अष्ट्रेलिया, क्यानबेरा — नेपालमा भड्कीएको जेन जेड आन्दोलन र सरकारद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध तथा दमनको घटनाका सन्दर्भमा क्यानबेरा स्थित नेपाली राजदूतावासमा नेपाली समुदायले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा प्रदर्शनकारीले सरकारी नेतृत्वको फोटो राजदूतावासबाट हटाई जनअसन्तोष प्रतीक स्वरुप डष्टबिनमा राखेका दृश्य सार्वजनिक भएका छन्।
यो विरोध कार्यक्रम क्यानबेरास्थित नेपाली समुदायद्वारा ‘नेपाल बचाऊ अभियान’ र जेन जेड अभियानको समर्थनमा आयोजित गरिएको थियो। प्रदर्शनकारीहरूले “न्याय चाहिन्छ”, “भ्रष्टाचार बन्द गर”, “जनताको आवाज दबाउन पाइँदैन” जस्ता नारासहित दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए। सामाजिक सञ्जालमा प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध आम नागरिकको आवाज ठूलो मात्रामा उठिरहेको बेलामा अष्ट्रेलियास्थित नेपालीहरूले पनि प्रवासमै सरकारको असंवेदनशीलता र संविधानमाथि हस्तक्षेपको विरोध गरेका हुन्।
प्रदर्शनको क्रममा सरकारी वरिष्ठ नेतृत्वका तस्बिर तथा प्रतीक चिह्नको सामाजिक रूपमै अस्वीकार गर्दै खारेजी जनाइएको देखिन्छ। यसबाट सरकारले सामाजिक, राजनीतिक जीवनमा चर्किएको असन्तुष्टिलाई सम्बोधन गर्न गम्भीरता देखाउनुपर्ने आवाज अझ बुलन्द बनाइएको छ।

