कविता– ‘सत्ता र क्रान्ति’
रामशरण गैरे

यि राजनैतिक दलहरू
पटकपटक सत्तामा पुगे ।
तर न त
देशमा परिवर्तन ल्याउन सके
न त सत्ताको चरित्रलाई
बदल्ने गरी
कुनै क्रान्तिकारी काम गरे ।
सत्तामा पुगेपछि
आदर्शबाट
विचलित हुन पुगे ।
सत्ताको शिखर पनि त्यस्तै हो,
शिखरमा नपुगुन्जेल जनताको याद,
पुगिसकेपछि भेटिने र देखिने अर्कै ।
सत्तामा पुगिसकेपछि
मुहार चर्मको तेज बढ्नु,
केही मांस थपिनु
र तिनको स्फूर्तिसम्म बढ्नुलाई
स्वाभाविक मान्न सकिए पनि
बिस्तारै तिनको
हाव–भाव, व्यवहार, सोच, शैली र
दृष्टिकोणसमेत किन बदलिने गर्दछ।
स्वाभिमान र नैतिकताको पर्दा च्याती
देशको अस्तित्व नै नासिरहँदा
के तिम्रा चिप्ला,खोक्रा भाषणले
सोझा जनतालाई झुक्काइरहन सक्छौ ?
तिमीले सत्ताको लागि
राजनीति खेल्दा
कुकुर र बिरालाझैँ
आफ्नै दलसँग जेलिरहँदा
नाचिरहेका छौ ताण्डव नाचहरू
पद र कुर्सीका लागि ।
क्रान्ति ल्याई
अरबौँ रूपैयाँको भीख मागिरहँदा
देशको अस्मिता बेचिरहँदा
देशलाई कठपुतली बनाइरहँदा
र त्यही कठपुतली
अरूको इशारामा नचाइरहँदा
कसैसँग नझुकेको मेरो शीर
सगरमाथाको शीरझैँ
उभिरहेको मेरो आत्मसम्मान
तिमीलाई झुकेजस्तो लाग्दैन ?
आफ्नै देशका स्वतन्त्र नागरिक
अनागरिक भएको जस्तो लाग्दैन ?
अरू कसैको देशसँग
परनिर्भर भएको जस्तो लाग्दैन ?
यो प्रश्नचिह्न
तिमीलाई गरेको हो कमरेड ।
कुम्हालेको चक्रजस्तो
सृष्टिको चक्रेटोमा घुमिरहेको
सोझा जनताको जीवनमा
देख्नुपरेको छ देश रोइरहेको
कसरी हेर्न सक्छौ, आफ्नै देश रोएको ?
देश धरापमा परेको देख्दा
जनताको आरोपले खेप्दा
परदेशको चपेटामा परेको देख्दा
तिमी आफैँलाई ग्लानि हुँदैन कमरेड ?
एकपछि अर्को गर्दै
भत्काइरहेछौ आफ्नै इतिहास
टुक्र्याइरहेछौ आफ्नै देश
चोइटा-चोइटा भएका छन् यहाँ
परिवर्तनका ध्वजाहरू
शान्तिका प्रतीकहरू !
कमरेड
के बुद्धका आँखाबाट
रगतका आँसु बगेको देखेका छैनौ ?
यो विद्रोहको पाइला हो कमरेड ।
तिम्रो लाल सलामलाई
अब शान्ति, स्वाभिमान र स्वाधीनताको
नमस्कारले छेक्ला
देश र जनताको निर्मम हत्या गरी
जनयुद्ध जितेका थियौ
त्यसमा बधाई छ
तर,
स्वाधीनता र स्वाभिमानको
अर्को जनयुद्धले
कमरेडको इतिहास नसकियोस् ।।
बुर्जुवा लोकतन्त्र अपनाउन पुगे
जसले क्रान्तिलाई
‘रेड बुर्जुवावाद’ मा रूपान्तरण गर्यो ।
सत्तामा पुगेपछि क्रान्ति
सम्पन्न हुन्छ हो र कमरेड ?’
क्रान्ति भनेको सत्ता परिवर्तन मात्रै नभएर
समाजको मूलभूत संरचनामा
आमूल परिवर्तन ल्याउने गहन प्रक्रिया होइन र ?
क्रान्तिकारीहरूले सत्ता हासिल गरेपछि
उद्देश्य पूरा भएको मान्ने वा नमान्ने ?
सत्ता प्राप्ति क्रान्तिको साधन मात्रै हो,
साध्य होइन ।
पुँजीवादी क्रान्तिमार्फत
दलहरू सत्तामा पुगे तर तिनीहरूले
देशमा अपेक्षित परिवर्तन ल्याउन सकेनन् ।
सत्ता प्राप्ति क्रान्तिको समापन होइन
बरु यसको सुरुवात मात्र हो ।
क्रान्ति त एक निरन्तर प्रक्रिया हो
जहाँ सत्ता प्राप्तिपछि पनि वर्ग संघर्ष,
सामाजिक, आर्थिक तथा सांस्कृतिक कामहरू
निरन्तर चलिरहन्छन् ।
वर्गसंघर्ष समाजवादी समाजमा पनि हुन्छ।
क्रान्ति भनेको सर्वहारा वर्गले
सत्ता कब्जा गरेर उत्पादनका साधनहरूको
स्वामित्व लिने प्रक्रिया हो ।
यदि क्रान्ति अन्तर्राष्ट्रिय स्तरमा
फैलिन सकेन भने यो एक्लिन सक्छ ।
र क्रान्ति अधुरो रहन जान्छ ।
क्रान्तिबिना यो संसार शून्य हुन्छ
क्रान्तिबिना आमूल परिवर्तन हुँदैन
गाँस, बाँस, कपासको ग्यारेन्टी हुँदैन
नभत्की नयाँ निर्माण हुन्न
रात नपरी नयाँ बिहान हुन्न
एक जुगमा एकचोटि त्यो उथलपुथल हुन्छ ।
क्रान्तिकारीहरूले राज्य यन्त्र कब्जा गरेपछि
यसलाई सर्वहारा अधिनायकत्वमा
रूपान्तरण गर्नुपर्छ र मात्रै
समाजवादी समाज निर्माण गर्न सकिन्छ ।
सत्ता प्राप्ति मात्रले क्रान्ति पूरा हुँदैन ।
यसपछि पनि उत्पादन सम्बन्धहरूमा
परिवर्तन, शिक्षा र संस्कृतिमा
क्रान्ति आवश्यक रहन्छ ।
एक्लो देशमा समाजवाद सम्भव छैन।
क्रान्ति राजनीतिक मात्र हुँदैन ।
राजनीतिक क्रान्तिसँग
आर्थिक, सामाजिक र सांस्कृतिक
पक्षहरू सँगसँगै जोडिएर आएका हुन्छन् ।
सत्ता प्राप्तिपछि
यदि उत्पादन सम्बन्ध परिवर्तन भएनन् भने,
सामाजिक–सांस्कृतिक सम्बन्धहरू
बलियो बनाइएन् भने
प्रतिक्रान्तिलाई रोक्न सम्भव हुँदैन,
क्रान्ति अधुरो रहन जान्छ ।
क्रान्तिकारीले सत्ता प्राप्त गरेपछि,
जनताको सशक्तीकरण,
सांस्कृतिक परिवर्तन र
विश्वव्यापी एकतामा
निरन्तर जोड दिइरहनु पर्छ ।
अन्यथा, क्रान्ति ‘रेड बुर्जुवावाद’ मा रूपान्तरण हुन्छ ।
अहिले नेपालको पुँजीवादी क्रान्ति
‘रेड बुर्जुवावाद’ मा रूपान्तरित हुन पुगेको छ ।
त्यसकारण क्रान्ति एउटा घटना होइन,
यो त निरन्तर यात्रा हो
जो निरन्तर चलिरहनुपर्छ ।
कमरेडहरू, सत्ताको चास्नीमा डुब्न छोडौं,
क्रान्तिलाई जीवन्त राखौं ।
आजसम्म देखिएका
क्रान्तिमा
हिंसाको ज्वाला थियो
तर यो क्रान्तिमा समानता र स्वतन्त्रताको
सुरिलो दीप हुनेछ ।
विगतका ती क्रान्तिहरूमा
हातहतियारको बोलवाला थियो
तर, यो क्रान्तिमा सेतो कागज र कालो
अक्षरको बोलवाला हुनेछ ।
हो, अझै एउटा क्रान्ति हुनेछ
जसमा सेतो कागजको पन्नामा
कालो अक्षर हुनेछ
त्यो अक्षर केवल अक्षर मात्र नभई
क्रान्ति हुनेछ ।

