समूह चरणको अन्तिम खेलमा मंगलबार इक्वेडरलाई २–१ ले पराजित गर्दै सेनेगल २० वर्षपछि फिफा विश्वकपको अन्तिम–१६ मा प्रवेश गरेको छ ।
सेनेगल पछिल्लोपटक सन् २००२ मा भएको विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो । विश्वकपको पहिलो सहभागितामै सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसपछि सन् २००६, २०१० र २०१८ मा विश्वकपमा छनोट हुन असफल भएको सेनेगल २०१८ मा भने विश्वकपको समूह चरणबाट बाहिरिएको थियो ।
कतारको अल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा सेनेगललाई अन्तिम–१६ मा पुर्याउन इस्मैला सार र कालिडोउ कौलिबालीले समान एक गोल गरे । इक्वेडरका मोइसेस काइसेडोले एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन् ।
जितसँगै सेनेगल समूह ‘ए’को उपविजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गर्यो । अन्तिम–१६ मा स्थान बनाउँन आज इक्वेडरलाई बराबरीको नतिजामात्रै पनि पर्याप्त थियो । सेनेगलसँग पराजित इक्वेडर भने तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकपबाट बाहिरिएको छ ।
सेनेगलले तीन खेलबाट ६ अंक जोड्दा इक्वेडरले चार अंकमात्र जोड्न सक्यो ।
यो समूहबाट नेदरल्यान्ड्स समूह विजेताको रूपमा प्री–क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह चरणमा अपराजित रहेको नेदरल्यान्ड्सले आजै भएको खेलमा कतारलाई पराजित गरेसँगै तीन खेलबाट सात अंक जोड्यो । तीन खेल खेल्दा पनि अंकविहीन बनेको कतार पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा ४४ औँ मिनेटमा सारले गोल पेनाल्टीमार्फत गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।
इक्वेडरका पिएरो हिन्कापीले १८ यार्ड बक्सभित्र सारलाई नै लडाएपछि सेनेगलले पेनाल्टी पाएको थियो । जसलाई सारले नै सदुपयो गर्दै सेनेगललाई अग्रत दिलाए ।
यद्यपि, ६८ औँ मिनेटमा काइसेडोले गोल गर्दै इक्वेडरलाई बराबरीमा फर्काएका थिए । तर, त्यसको दुई मिनेटपछि नै कौलिबालीले गोल गर्दै सेनेगललाई पुनः २–१ को अग्रतामा राखेका थिए ।

