नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यक्ता रहेको बताएका छन् ।
उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरूको नेतृत्व देशलाई आवश्यक भएको बताए । नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनले बताए ।
मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । पार्टीका अन्य नेताहरूले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ ।
कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रूपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरूले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुनेकुरालाई एकदमै स्वभाविक रूपमा लिनुपर्छ,’ थापाले भने, डेमोक्रेसीको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरूको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ ।’

