साविक विजेता फ्रान्स र अस्ट्रेलियाले बुधबार कतार विश्वकप २०२२ को अन्तिम–१६ मा स्थान बनाएका छन् ।
समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भए पनि पनि फ्रान्सले समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान पक्का गरेको हो । अस्ट्रेलिया भने डेनमार्कमाथि १–० को विजय हासिल गर्दै उपविजेताको हैसियतमा अघिल्लो चरणमा स्थान बनाउन सफल भएको हो ।
लिग चरणमा एक खेल बाँकी हुँदै अन्तिम–१६ मा स्थान पक्का गरेको फ्रान्सले बुधबार ट्युनिसियाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक डिडियर डेसच्याम्पले समूह चरणमा अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा खेलेको टिमका दुई खेलाडीमात्र ट्युनिसियाविरुद्ध निरन्तरता दिएका थिए । निरन्तरता पाउनेमा इब्राहिमा कोनाटे र औरेलिन चाउमेनी मात्र थिए ।
अस्ट्रेलियाविरुद्ध खेलेको गोलकिपर ह्युगो लोरिस, बेन्जामिन पाभार्ड, डायोट उपामेकानो, लुकास हर्नान्डेज, एड्रियन राबियट, औसमाने डेम्बेले, एन्टोइन ग्रिजमन, काइलियन एमबाप्पे र ओलिभर जिरौडले आरम पाएका थिए ।
उनीहरूको स्थानमा स्टेभ मनमन्डा, इडुवार्डो कामाभिङ्गा, राफायल भरान, एक्सेल दिसासी, युसुफ फोफाना, किङ्सले कोम्यान, जोर्डन भेरेटौट, माट्टेयो गुइनडोजी र रन्डल कोलो मुएनीलाई टिममा राखिएको थियो ।ट्युनिसियाका रक्षक नादेर घान्द्रीले गरेको गोल गरेका थिए । तर, उनको गोल अफसाइड घोषित भएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको ट्युनिसियाले ५८ औँ मिनेटमा वाहबी खाज्रीको गोलबाट अग्रता लिएको थियो । खाज्रीको त्यही गोल ट्युनिसियाको जितमा निर्णायक बन्यो ।
इन्जुरी समयमा फ्रान्सका बैकल्पिक खेलाडी ग्रिजमनले गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्री (भीएआर)ले उक्त गोललाई अफसाइड घोषित गरिदिएको थियो । फ्रान्स विश्वकपमा २०१४ पछि पराजित भएको यो पहिलोपटक हो । फ्रान्स २०१४ को क्वार्टरफाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यसपछि फ्रान्स विश्वकपमा हारेको थिएन ।
जितका बाबजुद ट्युनिसिया अन्तिम–१६ मा स्थान बनाउन असफल रह्यो । ट्युनिसियाको चार अंकमात्र छ । डेनमार्कमाथि १–० को विजय हालिस गरेपछि तीन खेलबाट ६ अंक बटुलेको अस्ट्रेलिया अन्तिम–१६ मा स्थान बनाउन सफल भयो ।
६ पटक विश्वकप खेलेको अस्ट्रेलियाले अन्तिम–१६ मा स्थान बनाएको यो दोस्रो पटक हो । अस्ट्रेलियाले यसअघि २००६ मा मात्र विश्वकपको अन्तिम–१६ स्थान बनाएको थियो । ६ पटक नै विश्वकप खेलेको डेनमार्क समूह चरणबाटै बाहिरिएको यो दोस्रो पटक हो । यसअघि डेनमार्क २०१० मा पनि समूह चरणबाटै बाहिरिएको थियो ।
समूह ‘डी’को पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले पराजित गरेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कमाथि २–१ को विजय हासिल गरेको थियो । फ्रान्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक जोडेको अस्ट्रेलिया गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रह्यो । ट्युनिसियाले ४ अंक जोडेको थियो भने डेनमार्कले १ अंकमात्र जोड्न सक्यो ।