चितवन, मंसिर २०: आर्थिक तरलता देखिएसंगै देशका विभिन्न भागका सहकारी संस्थाहरुमा समस्या देखिन थालेका छन् । त्यसको असर चितवनमा समेत पर्ने अनुमान गरिएको छ । तर अहिलेको अवस्थामा चितवनका सबैजसो सहकारी संस्थाहरुको अवस्था मजबुत रहेको पाईएको छ । ती सहकारीहरुले दैनिक बचत संकलन गर्नुको साथै नियमित रुपमा भुक्तानी समेत दिईरहेका छन् । अन्य जिल्लामा देखिएको समस्याले चितवनका सहकारीका विषयमा नकरात्मक हल्ला मात्रै धेरै चल्न थालेको उनीहरु बताउँछन् । हल्लाचले जस्तो यहाँका सहकारीहरुमा समस्या नै नरहेको सहकारीकर्मीहरु बताउँछन् ।
नारायणगढमा रहेको दिगो विकास कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष टेकबहादुर शाहीले भरतपुरका सहकारी संस्थाहरुमा खासै समस्या नदेखिएको बताउँछन् । ‘हामी नियमित बचत उठाउने र भुक्तानी दिने काम गरिराखेकैं छौं, तर टाट पल्टिने अवस्थामा कुनै पनि सहकारी संस्था छैनन्, नकरात्मक हल्लाको पछि नलागौं’–शाहीले भने ।
नारायणगढमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण तामाङ पनि चितवनका सहकारीहरुमा खासै समस्या नरहेको बताउँछन् । केही समय अघि समस्या उत्पन्न हुने अवस्थामा पुगे पनि अहिले धेरै सुधार भइरहेको बताए । ‘१०/१२ दिन अघि समस्या होलाकि जस्तो भएको थियो तर हाम्रो सहकारी धेरै राम्रो अवस्थामा छ, अहिले कुनै समस्या छैन, ढुक्क भएर बचत गर्न सकिन्छ ।’–अध्यक्ष तामाङले भने ।
उनका अनुसार स्वर्णलक्ष्मीले अहिले पनि दैनिक एक करोड बढी बचत संकलन गरिरहेको छ । यसका चार वटा सेवा केन्द्रहरु रहेका छन् । यहाँ कुल ८ हजार शेयर सदस्य छन् । ‘विगतको जस्तो धेरै बचत हुने अवस्था त छैन, स–साना बचतहरु भइरहेका छन्, सर्वप्रथम शेयर सदस्यहरुले विश्वास गर्नुप¥यो’–तामाङले भने ।
नारायणगढकै अर्को प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले पनि भरतपुरका सहकारीहरुमा समस्या नभएको जनाएको छ । सो सहकारीका अध्यक्ष मदनप्रसाद खरेल भन्छन्–‘बाहिर नचाहिने हल्ला बढी भयो, यहाँका सहकारीले बचतकर्ताहरुलाई सहज रुपमै भुक्तानी दिइरहेका छन्, अवस्थालाई ध्यानमा राखेर एकैपटक धेरै दिन नसकेका होलान् तर दिनै नसक्ने होइनन् ।’
सहकारीहरुले मात्रै होइन चाडबाडको बेलादेखि नै नारायणगढका ठूला बैंकहरुले नै ग्राहकहरुलाई चाहे जत्ति रकम भुक्तानी दिन रोक लगाएको थियो । एकैपटक धेरै रकम बाहिरिने डरहरुले भुक्तानीमा कडाई गरेका थिए । अहिले केही सहकारीहरुले त्यही अवस्थामा भुक्तानी दिनुलाई गलत अर्थमा व्याख्या गर्न नहुने उनीहरुको भनाई छ ।
नारायणगढकै चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले अहिले बचतकर्ताहरुलाई भुक्तानी दिइरहेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत राजन पौडेल भन्छन्–‘भुक्तानी लिन आउने बचतकर्ताहरुलाई थोरबहुत दैनिक रुपमै भुक्तानी गरिरहेका छौं, केही बचत पनि संकलन भइरहेको छ । बाहिर हल्ला चलाएजस्तो हामीमा समस्या छैन ।’ पौडेलले बचतकर्ताहरुको रकममा कुनै समस्या नआउने दावी गरे । ‘हामीसंग ऋण लगानी नै धेरै छ, सबै ऋण उठ्दै गए सोही अनुसार भुक्तानी गछौं, अहिले बचत कम संकलन भइरहेको र व्यवसायी मारमा परेकाले मात्रै भुक्तानीमा कडाई गरेका हौं’–पौडेलले भने । यस सहकारीमा दुई हजार दुई सय शेयर सदस्य रहेका छन् ।
नारायणगढमा रहेको गोधूली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधु कुवँर भन्छन्–‘हामी नियमित रुपमा बचतकर्ताहरु र ऋणिहरुको सम्पर्कमा छौं, बाहिरको हल्लाले मात्रै उहाँहरुमा डर पैदा गरेको छ, तर हामी सबै सहकारीहरु सुरक्षित नै छौं, यहाँका सहकारीहरुमा समस्या नै छैन ।’
उनका अनुसार अहिले सहज रुपमै दैनिक बचत हुनुको साथै पैसा निकाल्न चाहेमा सहज रुपमै निकाल्ने अवस्था छ । ‘ऋण असुली पनि भइरहेकै छ, बचत पनि भइरहेको छ, यस्तो अवस्थामा कसरी समस्या आउँछ ?’–उनले प्रश्न गरे ।
अध्यक्ष कुवँरले व्यवसायीहरुलाई सहकारीमै सुरक्षित रुपमा दैनिक बचत गर्न आग्रह गरे । सबैले दैनिक रुपमा बचत गर्ने र सोही अनुसार भुक्तानी लिने हो भने सहकारीमा कुनै समस्या नै नरहेको उनको भनाई छ ।
नकरात्मक हल्ला बढी भयो, एउटा सहकारी बाहेक कुनै पनि समस्या छैनः पौडेल
भरतपुर महानगरपालिकाभित्र हाल ३ सय ५० बढी सहकारी संस्थाहरु छन् । ती मध्ये एक लायन्स चोकमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । यस सहकारीले अहिले बचतकर्ताहरुको भुक्तानीमा रोक लगाएको छ ।
यस बाहेक कुनै पनि सहकारीहरुको बारेमा लिखित गुनासो नआएको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेल बताउँछन् । उनले भने–‘चितवनका सहकारीका बारेमा नकरात्मक हल्ला बढी भयो, हल्ला गरेजस्तो समस्या देखिदैन ।’ उनले सनराईज बाहेक अन्य कुनै पनि सहकारीमा समस्या आएको आफूलाई लिखित गुनासो नआएको बताए । ‘चन्द्रदर्शन, समाज कल्याणले अवस्था हेरेर भुक्तानी दिइरहेको अवस्था नै छ, त्यसैले बाहिर हल्ला चलेजस्तो समस्याग्रस्त कोही पनि देखिदैनन् ।’–प्रमुख पौडेलले भने ।
सनराइज बचत तथा ऋण सहकारी संस्थाले भने बदमासी गरेको भेटिएको छ । सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाईएको पौडेलले बताए । । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाईएपछि छानविन सुरु गरेको पौडेलले बताए । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताहरुको बचत असुलीका लागि आवश्यक सहजीकरण भईरहेको बताएका छन् । उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाईएको छ । यस सहकारीमा ३ हजार ५ सय शेयर सदस्य रहेको र ७० करोड रुपैयाँको कारोबार भएको पौडेलले जानकारी दिए । यस सहकारीले ३ स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोवार गर्दै आएको थियो ।
पौडेलले एउटा सहकारीमा सामान्य समस्या आउँदैमा सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने धारणा राखे । ‘एउटाले बदमासी गर्दैमा सबैलाई दोष दिन मिल्दैन, अहिलेको अवस्था ठ्याक्कै उस्तै हो’–पौडेलले भने । चितवनमा हाल करिव ८ सयको हाराहारीमा सहकारी संस्थाहरु रहेका छन् ।