भरतपुर , चितवन : मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवन जिल्लाको नारायणगढस्थित क्याम्पाचौरमा मंसिर २५ गते , आइतबार ( अाज ) साँझ ०४:०० बजेदेखि राति ०८:०० बजेसम्म ‘ नेपथ्य लाइभ कन्सर्ट ’ हुँदै छ ।
कार्यक्रमका अन्य आवश्यक सबै तयारी पूरा भएको र टिकट बिक्रीसमेत सकिएकाले कन्सर्टका दिन थप टिकटको व्यवस्थापन गरिएको मानवसेवा आश्रमका जिल्ला संयोजक सौगात श्रेष्ठले जानकारी दिए ।
आइतबार ( अाज ) नेपथ्यका मुख्य गायक अमृत गुरुङको झण्डै २ घण्टा एकल प्रस्तुतिमा क्याम्पाचौरमा उपस्थित सङ्गीत पारखी मजैले झुम्न पाउने छन् । सङ्गीतसँगै तरङ्गीत हुने गायक गुरुङको हाउभाउ र शरीरको ताल र जोशले उपस्थित दर्शकलाई मजैले झुमाउने छ ।
मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्न तथा आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ यही आइतबार ( अाज ) ‘ नेपथ्य लाईभ कन्सर्ट ’ मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक / पप गीतहरु प्रस्तुत गर्नुहुने छ ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो । यसअघि मंसिर १६ गते , विराटनगर र मंसिर १९ गते वीरगञ्जमा र मंसिर २२ गते , हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । ३ वटै कार्यक्रममा ५ हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।
यसपछि मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा , आउँदाे पुस ०३ गते धनगढी रङ्गशाला , पुस ०६ गते सुर्खेतको खुल्लामञ्च , पुस ०९ गते बुटवलको कालिका मानवज्ञान माद्यामिक विद्यालय सेक्टर २ ( रामनगर ) मैदान , पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।
अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘ न्यू इयर इभ ’ को दिन पुस १६ गते राजधानी काठमाडौंको भृकुटीमण्डपमा हुने छ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु. १ हजार रहेको छ ।

