कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ। प्रतियोगितामा ६० खेलको समाप्त भइसकेकाले अब ४ खेल बाँकी छन्। जसअन्तर्गत बहुप्रतिक्षित सेमिफाइनलका खेलहरु आजबाट हुन लागेका हुन्।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ मा सुरु हुनेछ।
कतार स्थित दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया दुवै टिमको लक्ष्य फाइनल पुग्ने हुने छ। अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा मैदान उत्रिँदा क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्ने छन्।
अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौँ पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ। अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ। साविक उपविजेता क्रोएसिया भने लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ।
अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो।