भरतपुर । इन्टरनेट कम्पनीले अव्यवस्थित तार पछारेर सडकमा राख्दा त्यसबाट दुर्घटनाको जोखिम बढेको छ ।
भरतपुर महानगरपालिकाको वडा नं–१० मा पर्ने दीपेन्द्रचोक (वीरेन्द्र क्याम्पसबाट विशालचोक पुग्ने बाटो) क्षेत्रमा निकालिएको तार सडकमै अलपत्र पारेर थुपार्दा बुधबार साँझ दुईवटा दुर्घटना नै भए । सडकमा थुपारिएको तार गाडीले लतार्दा करिब दुई सय मिटरको दूरीमा रहेका साइकल र मोटरसाइकलसमेत पल्टाइदियो ।
त्यसको केहीबेरमा सोही तारका कारण दुईवटा स्कुटर पनि ठोक्किए । सामान्य खालको दुर्घटना भएकोले त्यसले ठूलो रुप लिएन ।
वडा कार्यालयले इन्टरनेट कम्पनीलाई अव्यवस्थित तारलाई व्यवस्थापन गराउन निर्देशन दिएपछि कम्पनीवालाहरुले तारको व्यवस्थापन गर्न पोलबाट तार झारे पनि त्यसलाई समयमै व्यवस्थापन नगरिदिँदा भुइँमा पछारिएको गुजुल्टो तारले दैनिक दुर्घटनाको जोखिम बढाएको स्थानीय श्याम गौतमले बताए । सवारीसाधन दुर्घटनामा परे पनि त्यसको जिम्मेवार वडा कार्यालय र तार झारेर लथालिङ्ग पार्ने इन्टरनेट सेवाप्रदायक कम्पनी हुनुपर्ने उनले बताए ।
वडा कार्यालयले भने जति भन्दा पनि अटेर गरेकोले आफैँ उठाएर फाल्ने चेतावनी दिएको छ । इन्टरनेट कम्पनीलाई पटकपटक सम्पर्क गरेर सडकमा अलपत्र पारेर नराख्न भने पनि उनीहरूले अटेरी गरिरहेको वडा अध्यक्ष परमेश्वर खनालले बताए ।