विनोद अधिकारी,चितवन, पुस ४- साइकल यात्रीलाई सहज होस् भनी बनाइएको साइकल लेन आजभोलि साइकल भन्दा बढी पार्किङको लागि प्रयोग भइरहेको छ ।
भरतपुर महानगरले शहरका विभिन्न क्षेत्रमा साइकल लेनको लागि भनी मुख्य सडकको छेउमा हरियो रङसहित साइकलको तस्बिर कोरेको छ । साइकल यात्री भने साइकल लेनमा समेत ढुक्क सँग यात्रा गर्न नसकेको गुनासो गर्छन् । त्रिचोक हुँदै गितानगर पटिहानी जाने सडकको छेउमा भएको साइकल लेनलाइ पार्किङको लागि प्रयोग गरेको स्पष्ट देखिन्छ ।
साइकल लेन भनी स्पष्ट वर्गीकरण गर्दा पनि सवारी चालकहरुले नियम विपरीत सवारीसाधन लेनमा पार्किङ गर्ने बुद्वचोक निवासी हरि आचार्यले बताए । साइकल लेनमा यात्रा गर्दा अगाडि सवारीसाधन पार्किङ गर्दा मुख्य सडकमा आउन पर्ने र दुर्घटना बढ्ने गरेको भन्दै आचार्यले चिन्ता व्यक्त गरे । सम्बन्धित निकायमा पटकपटक मौखिक र लिखित उजुरी दिए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको भन्दै विकास चोक निवासी साइकलयात्री समिर मगरले गुनासो गरे । सम्बन्धित निकायमा पटक पटक निवेदन दिँदा पनि आश्वासन बाहेक अरु केही नपाएको भन्दै साइकल लेन साइकल यात्रीलाई कि सवारी पार्किङलाई मगरले प्रश्न गरे । महानगरले साइकल लेनको विकास गर्दै गए पनि फिल्डमा हेर्ने हो भने लेनको प्रयोग पार्किङमा मात्र भइरहेको अनुभव कटहर चोक निवासी होमनाथ तिवारीले सुनाए ।
मानव स्वास्थ्य, वातावरण, स्वस्थ शहरी जनजीवन र संस्कृतिको लागि महत्पूर्ण मानिएको साइकललाई गरिबको सवारीको रुपमा हेरिदा साइकल लेनको सही सदुपयोग नभएको तिवारीको भनाइ छ । साइकल प्रवद्र्धन गर्न सुरुमा धूवाधुलो नियन्त्रण र सडकमा साइकल लिएर हिड्दा सुरक्षित हुने प्रत्याभूति गराउन आवश्यक रहेको तिवारीले विचार व्यक्त गरे ।
महंगो पेट्रोलियम पदार्थको कम खपत गर्न र स्वस्थ शहरी जीवनको प्रत्याभूति गर्न साइकलको विकल्प नरहेको हुदा साइकल लेनको विस्तार र व्यवस्थापन गर्न सरोकारवाला निकायको नजर पुग्न आवश्यक छ ।

