भरतपुर । चितवन गार्डेन रिसोर्ट (सिजिआर)ले तीन लाख रूपैयाँ जरिवाना तिरेको छ । अनुगमन समितिको सिफारिसका आधारमा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सिजिआरलाई तीन लाख जरिवाना गराएका हुन् । सिजिआरले आइतबार नै जरिवाना बुझाएको सहायक प्रजिअ चिरञ्जीवी शर्माले जानकारी दिए ।
सिजिआरमा मंसिर २३ गते बिहे भोज खाएका १०० भन्दा बढी जन्ती बिरामी भएका थिए । सिजिआरले अखाद्य वस्तु उत्पादन गरी सेवाग्राहीलाई खुवाएको पुष्टि भएपछि अनुगमन समितिले मंसिर २७ गते सिजिआरको दुई किचनमा सिल गरेको थियो । सिजिआरको खानामा दिसामा पाइने जीवाणु रहेको अस्पतालले पुष्टि गरेको थियो ।
जरिवाना बुझाएपछि आइतबार नै सिजिआरको किचनमा लगाइएको सिल खोलिएको छ । सिजिआरलाई भोलि बुधबारभित्र सरसफाइ र गुणस्तर कायम गरिसक्न निर्देशन दिइएको सहायक प्रजिअ शर्माले बताए ।
‘पुस ६ गतेसम्ममा हामीले भेटेका सबै त्रुटि सच्याउन भनेका छौँ । सरसफाइलगायतका काम सकिएपछि हामी एकपटक हेर्न जान्छौँ, सबै कुरा भनेजस्तो पाइए त्यसपछि मात्रै सञ्चालन गर्न आदेश दिन्छौँ’, उनले भने ।
बिहे भोज खाएर बिरामी भएकाहरुको उपचार नेसनल सिटी हस्पिटलमा गरिएको हो । अस्पतालले सय जना बिरामीको उपचार गरेको अस्पतालका सञ्चालक विक्रम अधिकारीले बताए । उनका अनुसार सबै बिरामी उपचार सम्पन्न भएर डिस्चार्ज भइसकेका छन् ।