काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धाबाट बाहिरिएपनि रिहान गिरी र वर्षा इटानीलाई ‘सम्बन्ध’को प्रश्नले पछ्याउन छाडेको छैन । यी दुबैजना मंगलबार दिउँसो एयरपोर्टमा एकसाथ देखिए ।
विमानस्थलमा पुगेका यी दुईलाई मिडियाले ‘रिलेसनसिप’बारे प्रश्न गरे । तर, उनीहरुले आफूहरु मिल्ने साथी मात्र भएको भन्दै प्रश्नलाई पन्छाए । खासमा आगामी शुक्रबार हुने भ्वाइसको ग्राण्ड फिनालेमा सहभागि हुन रिहानकी आमा र बहिनी काठमाडौं आइपुगेका थिए ।
उनीहरुलाई स्वागत गर्न रिहानसँगै वर्षा पनि एयरपोर्ट पुगेकी थिइन् । उक्त अवसरमा मिडियाले रिहानलाई नेपाली केटी विवाह गर्छु भनेर दिएको हालैका अन्तर्वार्ताबारे जिज्ञासा राखेका थिए ।
रिहानकी आमा गीताले पनि छोराले नेपाली बुहारी बनाएमा आफूलाई खुशि र गर्व महसुस हुने बताइन् । वर्षा र रिहानतर्फ हेर्दै उनले भनिन्, ‘दुबैको चाहना भए मेरो तर्फबाट ओके । छोराको चाहना मेरै खुशि हो ।’
वर्षाले पनि रिहानकी आमालाई भेट्न आफू उत्साहित र खुशि भएको बताइन् । गीताले छोरा रिहानको गायकीको प्रशंसा समेत गरिन् । ‘खासमा रिहान अरु नै कामको लागि नेपाल आएको हो । विधाताले लेखेकै भएर उनी भ्वाइसमा भेटिए । मेरो छोराले निकै सम्मान पाएको छ’ उनले भनिन् ।
उनले आफ्नो छोरा वास्तविक कलाकार भएको समेत बताइन् । बीस वर्षपछि नेपाल आएकी उनले रिहानसँगै नेपालका तीर्थस्थल घुम्ने चाहना व्यक्त गरिन् ।