पोर्चुगलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डो यो वर्षको अन्तमा साउदी क्लब अल नसरमा आबद्ध हुने चर्चित स्पेनिस अखबार मार्काले जनाएको छ। मार्कालाई उदृत गर्दै डेलिमेलले वार्षिक १ सय ७५ मिलियन पाउन्डमा रोनाल्डोले साउदी क्लबसँग समझौता गर्न लागेको उल्लेख गरेको छ।
३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग यसै महिनाको सुरुवातमा सम्झौता अन्त्य गरेका थिए। उनले एक अन्तर्वार्तामा क्लब र प्रशिक्षकको बारेमा तिखो टिप्पणी गरेसँगै विवादमा तानिएका थिए। पछि उनले सोही कारण क्लब छोड्नु परेको थियो।
मार्काका अनुसार अल नासरले यसै वर्षको अन्तमा रोनाल्डोसँग सम्झौता गर्ने तयारी गरेको छ। अहिले रोनाल्डो दुबईमा रहेको जनाइएको छ। उनी सम्झौताको अन्तिम तयारीका लागि दुबईमा रहेको दाबी गरिएको छ। उनी परिवारसहित अहिले दुबईमा रहेका छन्। उनी सम्झौताको अन्तिम टुंगो नभएसम्म दुबईमा रहने जनाइएको छ।
अघिल्लो महिना उनले साउदी क्लबसँग गर्ने भनिएको सम्झौताको बारेमा अफवाह फैलाएको भन्दै समाचार खण्डन गरेका थिए। तर यो बीचमा उनलाई कुनै पनि ठूला युरोपियन क्लबबाट प्रस्ताव नआएसँगै उनी कीर्तिमानी मूल्यमा साउदी क्लब जानका लागि तयार भएको जनाइएको छ।
अल नासर साउदीको एक चर्चित क्लब हो। उसले साउदीका चर्चित ९ उपाधि जितिसकेको छ। तर उसले २०२० र २०२१ मा भने लिगको उपाधि जित्न सकेको थिएन। तर उसले साउदी सुपर कप भने जितेको थियो। साउदी क्लब रोनाल्डोलाई क्लबमा भित्र्याउँदै अन्तर्राष्ट्रिय ब्रान्ड बन्ने ध्याउनमा रहेको छ।
अल नासरले केही समयअघि मात्रै म्यानेजरका रुपमा फ्रान्सका रुडी गार्सियालाई क्लबमा अनुबन्धन गरेको छ। गार्सियाले त्यसअघि रोमा, मार्सेली तथा लियोनमा प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका थिए। क्लबले रोनाल्डोको अनुबन्धनले साउदीमा नयाँ फुटबल माहोलको सिर्जना हुने विश्वास लिएको छ।
बिबीसीसँग कुरा गर्दै राजकुमार अब्दुलाजिजले सबै कुरा सम्भव भएको दाबी गरे। उनले भने, ‘सबै कुरा सम्भव हुन्छ। म रोनाल्डोले साउदी क्लबबाट खेलेको हेर्न चाहन्छु।’
उनले साउदी लिगका लागि मात्र नभएर समग्र युवाका लागि समेत रोनाल्डोको आगमन प्रेरणादायी हुने बताए।