चितवन, पुस १० : सडक डिभिजन कार्यालयले शुक्रबारदेखि सुरु गरेको पुल्चोक–गोन्द्राङ सडकको दायाबाया अतिक्रमित घरटहरा भत्काउने कार्यलाई आज आइतबार पनि निरन्तरता दिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने क्रममा सडक डिभिजनले भरतपुरका अवैध संरचनामा डोजर चलाएको हो ।
यतिबेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुलचोक–गोन्द्राङ सडकखण्डलाई ६ लेनमा विस्तार गर्ने कामभइरहेको छ । भरतपुर महानगरपालिकाभित्र पर्ने यस सडकखण्ड विस्तारपछि यातायात सञ्चालन र बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ । रागमार्गको केन्द्रबाट दायाँबायाँ ३१\३१ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन–२०३१ मा उल्लेख छ । सडक ऐन अनुसार सडक अधिकार क्षेत्रभित्रका घरहरु भत्काइएको सडक डिभिजनले बताउँदै आएको छ ।

