भरतपुर । यसवर्ष हिउँदभर नै अनुदानको रासायनिक मलको अभाव नहुने अवस्था देखिएको छ । कृषि सामग्री कम्पनी भरतपुरले वीरगञ्जस्थित सरकारी रासायनिक मलको डिपोबाट नियमितजस्तो मल आइरहेको जनाएको छ ।
कृषि सामग्री कम्पनीका प्रमुख राजन बगालेका अनुसार हिउँदभर सरकारले दिने अनुदानको रासायनिक मलको अभाव हुँदैन । प्रमुख बगालेले भने, ‘असोजपछि लगातार मल आइरहेको छ, हिउँदमा मलको माग पनि कम हुन्छ, जसका कारण कृषि सामग्री कम्पनीले चितवनमा मलको माग धानिरहेको छ ।’
उनका अनुसार आउँदो सोमबारबाट युरिया मल वितरण गरिनेछ । उनले भने, ‘४७० टन मल कृषि सामग्री कम्पनीमा आइसकेको छ, सोमबारबाट वितरण गर्न थाल्छौँ, जेहोस् किसानलाई पर्याप्त मात्रामा मल दिन नसके पनि खाली हात पठाउने अवस्था हिउँदभर हुँदैन ।’
चितवनको धेरै खेतीयोग्य जमिनमा हिउँदे बालीअन्तर्गत तोरी लगाइएको छ । यसबाहेकको जमिनमा तरकारी, केरा छ । कम मात्रामा गहुँ, फापर लगाइएको छ । यी बालीमा धेरै रासायनिक मलको आवश्यक पर्दैन । सबैभन्दा बढी रासायनिक मलको माग धान रोप्ने सिजनमा हुन्छ । धान रोप्ने सिजनमा चितवनमा पनि मलको चरम अभाव भएको थियो ।
हिउँदमा मलको माग पनि कम हुन्छ, तर फेरि मल नियमितजस्तो आइरहेको हुनाले कृषि सहकारी तथा एग्रोभेटहरुमा किसानले मल पाइरहेका छन् । आगामी वैशाख महिनासम्म मलको अभाव नहुने कृषि सामग्री कम्पनीको भनाइ छ ।
‘हरेक कृषि सहकारी तथा एग्रोभेटहरुले अनुदानको मल चाहिएजति नपाउलान् तर अभाव नै भयो भन्ने गुनासो नआउने गरी मल वितरण भइरहेको छ’ कृषि सामग्री कम्पनीका प्रमुख राजन बगालेले भने, ‘बर्खाको सिजनमा मल अभाव हुँदैन, भनेर अहिले भन्न सकिँदैन, तर हिउँदमा भने लाइनमा बसेर पनि मल नपाइने अवस्था भने छैन ।’
उनका अनुसार ‘कोलकताबाट वीरगन्ज डिपोमा मल आइरहेको र त्यहाँबाट कृषि सामग्री कम्पनी चितवनको कार्यालयमा नियमितजस्तो मल आएको छ ।
यो वर्ष धानको सिजनमा एकचोटिमात्र अनुदानको मल आएको थियो । तर अहिले हिउँदमा पटकपटक मल आइरहेको छ । किसानले तोरी, तरकारीकै लागि महँगोमा यसपटक मल खरिद गर्न परेन, उनीहरुले सस्तोमा अनुदानको मल पाएका कृषि सामग्री कम्पनीको दाबी छ ।
वीरगन्जको मलको डिपोबाट चितवनको कृषि सामग्री कम्पनीमा ३४१ टन र ४७० टन युरिया मल आइसकेको छ । किसानहरुले अनुदानको डिएपी मल नजिकको सहकारी तथा एग्रोभेटहरुबाट लिन सक्नेछन् । सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी चितवन शाखा र साल्ट ट्रेडिङ कर्पोरेसन चितवनले अनुदानको मल सहकारी तथा एग्रोभेटहरुलाई वितरण गर्छन् ।
कृषि सामग्री कम्पनीले पालिकाले पठाएको सूचीअनुसार मल वितरण गर्दै आएको छ । पालिकाहरुले एग्रोभेट वा सहकारीलाई मल पाउने विवरण दिएका छन्, त्यही विवरणअनुसार कृषि सामग्री कम्पनीले मल वितरण गर्दै आएको छ ।

