देशको अर्थतन्त्रमा चार प्रतिशत योगदान पु¥याउँदै आएको नेपालको कुखुरा पालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । कुखुरा पालन व्यवसायी धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् ।
अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय नै बन्द भएको छ । बैंकहरुले लिलामीको सूचना निकाल्ने क्रम समेत शुरु भएको छ ।
व्यवसायीको भनाईमा विगत दुई वर्ष यता अत्याधिक बढेको कच्चा पदार्थको मूल्य र बैंकको उच्च व्याजदरका कारण व्यवसायी थला परेको हो । यससँगै उत्पादित वस्तुले लागत मूल्य समेत नपाएपछि व्यवसायमा समस्या देखापरेको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार व्यवसाय जोगाउन मुस्किल अवस्थामा पुगेपछि देशभरका ठूला व्यवसायी संगठित भएर अभियानकै रुपमा निजी क्षेत्रले काम थालेको छ । काठमाण्डौं र वीरगञ्जमा कार्यालय नै खोलेर बजारीकरण व्यवस्थित गर्ने काम शुरु गरिएको छ । अन्य शहरहरुमा पनि कार्यालय स्थापना गरी व्यवसायीहरुलाई सहयोग गरिंदैछ ।
व्यवसायीहरुको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उहाँले बताउनुभयो ।
संघका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । अहिले पनि कहिलेकाहीं त्योभन्दा तल अण्डाको मूल्य पुग्ने गरेको छ । उहाँले भन्नुभयो “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”
निजी क्षेत्रको सक्रियतासँगै खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट रु.३६० पुगेको छ । ढकालको भनाईमा अहिलेको लागत मूल्य प्रतिक्रेट रु.४५० हाराहारी छ ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा समझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्नुपर्ने बताउनुहुन्छ । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उहाँको भनाई छ ।
औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँ बताउनुहुन्छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो ।
हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताउनुभयो । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।
राज्यतहबाट हस्तक्षेप गर्न नसके पोल्ट्री व्यवसाय सिद्धिन्छ : कृषि सचिव पाण्डे
बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.शरण पाण्डेले समयमै सरकारले पोल्ट्री व्यवसायलाई सम्बोधन गर्न नसके व्यवसाय समाप्त हुने अवस्थामा पुगेको बताउनु भएको छ । १० औं राष्ट्रिय पोल्ट्री दिवसलाई सप्ताहव्यापी कार्यक्रम गरी मनाईरहेको सचिव पाण्डेले आत्मनिर्भर व्यवसाय बचाउनु राज्यको दायित्व भएको बताउनुभयो ।
सरकारले सम्बोधन गर्न नसकेको स्वीकार्दै उहाँले प्रदेश सरकारको मन्त्रीपरिषद्ले अध्यादेश पास गरेर प्रदेश प्रमुखकोमा प्रमाणिकरणका लागि पु¥याएको पोल्ट्री विकास बोर्ड तत्काल गठन गरी काम गर्नुपर्ने बताउनुभयो ।
खाद्य पोषण सुरक्षाको महत्वपूर्ण श्रोत पोल्ट्री भएको भन्दै उहाँले यसलाई बचाउन सरकार र निजी क्षेत्र मिलेर लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने कार्ययोजना तयार गरेको उहाँको भनाई छ ।
अध्यादेश मार्फत् क्षेत्रपूर्ति दिईएको भन्दै उहाँले उत्पादन र बिक्रीको सन्तुलन मिलाउन सरकारसँग अनुमति लिएर काम गर्नुपर्ने उहाँको भनाई छ । सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोकको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूमि, बोर्ड गठन गरेर गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्य मार्फत् हुँदै आएको छ । यसलाई प्रदेश सरकार मार्फत् गरिनु पर्ने उहाँ बताउनुहुन्छ । नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्दै गएपछि भारतीय सीमा क्षेत्रमा मासु राख्न चिस्यान केन्द्र स्थापना गर्न थालिएको छ । उहाँले यसरी नै अघि बढेमा यहाँको पोल्ट्री क्षेत्र समाप्त हुन समय नलाग्ने बताउनुभयो ।
कुखुरामा देखिएको रोग, अनियन्त्रित ओसारपसार, सरकारी र निजी क्षेत्रको समन्वयको अभाव, नीतिगत प्रष्टताको अभाव, राज्यको प्रतिबद्धताको कमी, पोल्ट्री बोर्ड गठनमा ढिलाई लगायतका कारण व्यवसाय कमजोर बनेको उहाँको भनाई छ ।
देशमा खपत हुन सक्ने जति मात्रै उत्पादन गर्ने गरी यस क्षेत्रमा लगानीका लागि राज्यको तर्फबाट नियमित गरिनु पर्ने उहाँ बताउनुहुन्छ ।

