नेकपा एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । हेटौँडा १०, स्थित प्रदेशसभा भवनमा रहेको दलको कार्यालयमा बसेको बैठकले थपलियालाई दलको नेताका रूपमा चयन गरेको एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेलले जानकारी दिए ।
बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य आनन्द पोख्रेल र केन्द्रीय सदस्य रामेश्वर रानाले थपलियालाई दलको नेता बनाउने बारे निर्णय सुनाएका थिए । थपलियाले चितवनको निर्वाचन क्षेत्र १ को (१) बाट कांग्रेसका किरण ओलीलाई साढे ८ हजार मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
थपलिया चितवन १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लठ्न चाहन्थे । तर, पार्टीमा भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि १० भाइको समूह मिलाउन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई टिकट दिइएको थियो । पाण्डेले टिकट पाएपछि थपलिया प्रदेशसभा झरेका थिए ।
गठबन्धनमा एमालेले बागमती प्रदेश पाएको अवस्थामा दलको नेता चयन भएसँगै थपलियालाई मुख्यमन्त्री हुने बाटो खुलेको छ । यघपि, गठबन्धनमा प्रदेश भागवण्डा नलागिसकेकाले बागमतीमा नेतृत्व कसले गर्छ भन्ने टुंगो छैन । राप्रपा सरकारमा जाने भएपछि १३ सिट रहेको राप्रपाले बागमती प्रदेशमा पनि दावी गर्ने चर्चा छ ।

