काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन्।
सोमबार ‘अकुपाइ टुँडिखेल’ अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्नेबारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्।
उनले धरहरा, काठमाडौँ प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको उल्लेख गरिन्। उनले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन्।
उनले भने, ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ। आवश्यकता हो कि होइन भन्नेबारेमा अध्ययन भइरहेको हो। डिपिआर त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ। धरहरा, काठमाडौँ प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन। जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनु हुँदैन। सर्वसाधारणको सुझावबिना महानगरले कुनै काम गर्ने छैन।’
गत कात्तिकमा काठमाडौँ महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ।

