भरतपुर । चितवनमा शुक्रबार प्रतिबन्धित जातको माछा नष्ट गरिएको छ। सरकारले प्रतिबन्ध लगाएको ‘माहुर’ जातका माछा सशस्त्र प्रहरी आँपटारीले नष्ट गरेको मत्स्य व्यवसायी संघ चितवनले जनाएको छ । भरतपुरको गुञ्जनगरबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको नियमित चेकजाँचबाट माहुर जातको माछा ल्याएको पत्ता लागेपछि मत्स्य व्यवसायी संघ चितवनका पदाधिकारीहरुको रोहवरमा सशस्त्र प्रहरी कार्यालयको परिसरभित्रै नष्ट गरिएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार माछा माहुर जातको भए पनि भेटेरिनरी डाक्टरले कार्प जातको माछा भनेर बिल बनाएर पठाएको थियो । माहुर जातका माछाको भुरा नेपालमा उत्पादन नहुने र छिमेकी मुलुकबाट ल्याउँदा यसको भन्सार पास नहुने हुँदा गलत बाटोबाट भुरा ल्याएर हुर्काउने गरिएको उनले बताए । राज्यले प्रतिबन्ध नै लगाएको हुँदा अर्कै जातको माछाको बिल बनाएर बिक्री गर्न लागेको हुन सक्ने उनले बताए ।
यो माछा मांसाहारी भएकोले जलाशयमा प्राकृतिक पोखरी या जलाशयमा राख्दा सङ्कटापन्न जलचर प्राणीसमेत मासिने हुँदा सरकारले माहुर जातको माछा पाल्ने अनुमति नै नदिएको उनले बताए । मांसाहारी भएकै कारण यसलाई दानाको रुपमा मरेका कुखुरा र सडेगलेका गाईभैँसीका मासुसमेत खुवाउने गरिएको उनको भनाइ छ । ‘त्यतिमात्र होइन, माहुर जातका माछामा मर्करी र लिडको मात्रा पनि बढी हुने हुँदा खानका लागि पनि योग्य मानिँदैन’, उनले भने ।

