बाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रमअन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ।
सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमा सो विषय जनाइएको छ। कोरोना महामारीका बेला सात प्रदेशमध्ये बाग्मतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार ०७९/८० मा तीन करोड ९४ लाख बजेट विनियोजन गरी बाग्मती प्रदेशको प्रथम आयुर्वेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ। मकवानपुरको विभिन्न स्थानमा आयुर्वेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एमआरआई मेसिन खरिद गरी हस्तान्तरणसमेत भइसकेको प्रतिवेदनमा उल्लेख छ। वाग्मती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचारसम्बन्धी कामर्यक्रम गरिएको छ।
अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उहाँले जानकरी दिनुभयो । कोरोना महामारीको सङ्क्रमण रोकथाम र डेङ्गुरोग नियन्त्रण गर्न सो अवधिमा विभिन्न कार्यक्रम गरिएको बताइएको छ।
यसैबीच मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या हालसम्म पाँच हजार आठ सय १० पुगेको सो मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ। सो तथ्याङ्क साउनदेखि आजसम्मको छ। जसमा तीन हजार एक सय ८२ पुरुष र दुई हजार ६ सय २८ महिला छन् । डेङ्गु सङ्क्रमित जिल्लाको १० स्थानीय तहमध्ये बढी हेटाैँडा उपमहानगरपालिमा रहेको सो कार्यालयले जनाएको छ।

