स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बिउ खरिदमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । अख्तियारले गरेको छानबिनमा अदुवाको बिउ खरिदमा तत्कालीन नगरप्रमुख, प्रशासकीय अधिकृत, लेखापाल र आपूर्तिकर्ताले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ ।
तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि, तीनकुने, काठमाडौंका प्रतिनिधिसमेत ६ जना र प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले नगरप्रमुख अधिकारीविरुद्ध १३ लाख, तत्कालीन प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध १ करोड ९७ लाख रुपैयाँ बिगो दाबी मुद्दा दायर गरेको छ ।
यस्तै अदुवाको बिउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि, तीनकुने, काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेविरुद्ध २ करोड १० ला रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
प्रेस विज्ञप्ति
जिल्ला स्याङ्जा, गल्याङ नगरपालिकाबाट भएको अदुवाको बीउ खरिदको लागत अनुमान प्रचलित कानून बमोजिम भए गरेको नदेखिएको, बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण विना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई रु.१३,००,०००।- थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (घ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले तत्कालीन नगर प्रमुख भुपराज अधिकारीलाई रु.१३,००,०००।- (तेह्र लाख रुपैयाँ) बिगो कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो वमोजिम जरिवाना गरी विगो असुल उपर हुनसमेत मागदावी लिइएको छ ।
यसैगरी गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक पटक रु.२,१४,५०,०००।- भुक्तानी दिएकोले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई पटक पटक गरी भुक्तानी भएको परिमाणलाई प्रति किलोग्रामका दरले (नगरप्रमुख भुपराज अधिकारीको तोकबाट बढी भुक्तानी भएकोले सो कट्टा गरी हुन आउने प्रति किलोग्रामको रकम) हुन आउने कुल रकम रु.२,०१,५०,०००।- मा अग्रीम आय करबापत कट्टा गरिएको रु.३,७९,५०१।- घटाई कायम हुने रु.१,९७,७०,४९९।- (एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ) बिगो कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोवमोजिम जरिवाना गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम निजहरुबाट विगो असुलउपर हुनसमेत मागदावी लिइएको छ ।
साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तीनकुने, काठमाडौं र उक्त प्रा.लि.का अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेले अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपूर्ति गर्नुको सट्टा अन्य गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तीनकुने, काठमाडौं र उक्त प्रा.लि.का अख्तियारप्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेलाई अग्रीम आय करबापत कट्टा गरिएको घटाई कायम हुने रु.२,१०,७०,४९९।- (दुई करोड दश लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ) बिगो कायम गरी ऐ.ऐ ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत गर्न मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी

