आ व २०७८/७९ को आय व्यय प्रतिवेदनको ४३ औं बुँदामा उल्लेख गरिएको “क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न रास्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत संचालन गरिनेछ ” भन्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेस चितवन जिल्लाका वडाहरु ४,५, ७ र १० को गम्भीर ध्यानकर्षण भएको थियो।
सोहि बिषयमा आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई भेटेर ध्यानाकर्षण पनि बुझाएको छ। यसप्रकार यस वि. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको भूमिकालाई प्रभाव पार्ने गरी सरकारले गर्न लागेको गतिविधि प्रति गम्भीर असहमति प्रकट गर्दै कुनै पनि बाहानामा अस्पताललाई कमजोर बनाउने र एउटा स्वायत्त निकायलाई कुनै अर्को निकायको अधिनस्त राख्न खोज्नु प्रचलित ऐनको समेत विपरीत हुने भएकोले अस्पताललाई यथास्थितिमा नै राखेर यसको समग्र विकास र विस्तारका लागि पहल गर्नका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज लगायत आम नागरिकहरुप्रति अपिल गर्दै आज जिल्ला प्रशासन कार्यालय चितवन र वि.पि मेमोरियल क्यान्सर अस्पताल मा ध्यानाकर्षण पत्र बुझाएको कांग्रेस चितवन वडा नं ७ का सचिव विकास पौडेलले चित्रवन खबरलाई बताए।
साथै नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि ऐक्याबद्दता जनाउदै प्रेस बिज्ञप्ति जारि गरेको छ।