बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘भ्रष्टाचार’बारे सामाजिक सञ्जालमा गरिएको टिप्पणी सेयर गरेको भन्दै प्रतिष्ठानले सहप्राध्यापक अर्थोपेडिक सर्जन डा. विष्णु पोखरेललाई स्पष्टीकरण सोधेको छ।
सामाजिक सञ्जालमा सेयर गरेको टिप्पणीले संस्थाको छविमा आँच आएको भन्दै प्रतिष्ठानले हिजो डा. पोखरेललाई स्पष्टीकरण सोधेको हो।
प्रतिष्ठानका उपकूलपति प्रा. डा. ज्ञानेन्द्र गिरीद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा उचित र पर्याप्त कारणसहित तीन दिनभित्र जवाफ पेस गर्न भनिएको छ।
स्पष्टीकरण चित्तबुझ्दो नभए प्रतिष्ठानको नियमावली बमोजिम कारबाही हुने पत्रमा उल्लेख छ। डा. पोखरेलले करिब एक साताअघि सामाजिक सञ्जालमा पोस्ट गरिएको ‘बीपी कोइरालामा भ्रष्टाचारले ज्यान लिने, अख्तियार तमाशा हेर्ने, कहिलेसम्म ?’ टिप्पणी प्रतिष्ठानकै स्वास्थ्यकर्मीको ग्रुपमा सेयर गरेको बताए। उक्त पोस्टमामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नाम लेखिएको मोबाइल नम्बर रहेको डा. पोखरेलले बताए।सो नम्बरमा आफूले म्यासेज गरेको डा. पोखरेलले जानकारी दिए। डा. पोखलेलले उपलब्ध गराएको सो म्यासेजमा लेखिएको छ, ‘सर नमस्कार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको प्राथमिकताका साथ छानबिन तथा कारबाही गर्नुहोला। एउटा राष्ट्रिय गौरवको प्रतिष्ठान धरासायी बन्दै छ।’
प्रतिष्ठानले डा. पोखरेललाई सोधेको स्पष्टीकरण पत्रमा प्रतिष्ठानको शिक्षक रहेर प्रतिष्ठानको छविमा आँच आउने प्रकारको क्रियाकलाप गरेको पाइएको उल्लेख छ।
‘मिति २०७७/४/२०, २०७७/०४/२३ र २०७७/०९/२८ मा पटक–पटक जारी गरेको सूचना/परिपत्र बर्खिलाफ कार्य गरेको किन नभन्ने ?’ स्पष्टीकरण पत्रमा उल्लेख छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली २०५५ को नियम १०.२६ आचारसंहिता विपरीत कार्य गरेको किन नभन्ने ? साथै तपाईंलाई प्रतिष्ठानको सोही नियमावलीको नियम १०.७ बमोजिम कारबाही किन नगर्ने?’
तर, डा. पोखरेलले स्पष्टीकरण पत्र आफूले नपाएको बताएका छन्। ‘मैले अफिसियल्ली चिठी पाएको छैन,’ उनले भने।
समाचार श्रोत: उकेरा/सेतोपाटी