नेपाली कांग्रेसका प्रवक्ता एवं सामाजिक मुद्धालाई केन्द्रित बनाएर प्रशारण भइरहेको टेलिभिजन कार्यक्रमका संचालक विश्व प्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई बधाई तथा संक्षिप्त सुझाव दिनुभएको छ।
सुझावमा पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई सम्झिएर बजेट निर्माण गर्न सकियो भने शासकीय जिम्मेवारी, राजनैतिक दायित्व अनि कर्तव्य निभाउन पनि सहज हुने प्रवक्ता शर्माले बताउनु भएको छ।
संबेदनशील समयमा आलोचित हुन एउटा गल्ति/भ्रम नै काफी हुने र राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्ने हुन्छ त्यसैले पार्टीको छविलाई धुमिल पार्ने किसिमले काम नगर्नको लागि “छायाँ” को नभई “ऐना” को सुझाव लिन पनि शर्माले अनुरोध गर्नु भएको छ। मुख्य मन्त्री सबै पार्टीको हुनेहुनाले प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई पनि सकारात्मक सन्देशले प्राण भर्ना सुझाउनु भएको छ।
प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्ने परिपाटी सहित अगाडि बढ्न सकेमा अध्यारोलाई प्रकाशमा रुपान्तरण गर्न सकिने साथै राजनीति प्रतिको बितृष्णालाई कम गर्न पनि सहयोग पुग्ने प्रवक्ता शर्माको भनाइ छ। साथै अन्तमा इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखी गलत निर्णय नगर्न , नकारात्मक प्रचार हुन बाट जोगिन विज्ञहरुको सुझाव लिएर अगाडि बढ्न प्रवक्ता शर्माको सुझाव रहेको छ।