चितवन । चितवनमा जारी निषेधाज्ञा फेरी थपिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा फेरी थप्ने भएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।
जिल्लामा कोरोनाको जोखिम कायम्नै रहेकाले केही खुकुलो गर्दै निषेधाज्ञा थप्ने तयारी रहेको सुचना अधिकारी पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) राति १२ बजेबाट सकिदै छ । पछिल्लो पटक निषेधाज्ञा थप गर्दा केही क्षेत्रलाई खुकुलो पारिएको थियो । अहिले थपिने अवधिमा निषेधाज्ञा कुन मोडालिटीमा गर्ने भन्ने विषयमा आज छलफल हुनेछ । अहिले बाढी, पहिरोका कारण मानिसहरुको झनै भिडभाड हुन सक्ने संभावना रहेकाले अहिलेकै अवस्थामा निषेधाज्ञा थप गर्ने गृहकार्य हुँदैछ ।
एक समय जिल्लामा दिनमै ४ सय जनाको हाराहारीमा कोरोना संक्रमित फेला पर्दै आइरहेका थिए । अहिले दैनिक एक सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । परीक्षणको दायरा पनि कम भएकाले अहिले संक्रमित कम फेला पर्न थालेको अनुमान छ । डेढ महिना लामो निषेधाज्ञाले पनि जिल्लामा कोरोना संक्रमण न्यूनीकरणमा सघाउ पु¥याएको चिकित्सकहरु बताउँछन् ।

