भरतपुर, ४ असार
भरतपुर महानगरले जिल्लामा नै पहिलोपटक अत्याधुनिक आपत्कालीन आवास (इमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरी साझापुरमा आपत्कालीन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो ।
बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्लाकै पहिलो इमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर–२८ साझापुरमा सञ्चालन गरिएको हो । शिलान्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ ।
विपद व्यवस्थापनका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिकासँगको समन्वयमा एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा उक्त आवास निर्माण गरेको हो । दुई तले उक्त आवास भुकम्प प्रतिरोधि तथा अपाङ्गमैत्री रहेको आयोजना प्रमुख प्रकाश अर्यालले बताए । यस्तै बाढीबाट क्षेती हुन नदिन जमिनबाट २ मिटर उचाईमा भवन निर्माण गरिएको अर्यालले जानकारी दिए । यो जिल्लाकै पहिलो आपतकालिन आवास भएको उनको भनाइ छ ।
उक्त दुई तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २२० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरूष शौचालयसमेत रहेको छ । भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको छ । आवास व्यवस्थापन स्थानीय सरकारले गर्नेछ ।
भवनको एक औपचारिक कार्यक्रमबीच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्घाटन गरेकी छन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख इन्जिनियर प्रकाश अर्यालले हस्तान्तरण गरेसँगै उद्घाटन भएको हो । भवनमा विपद्को समय उद्धार गरी ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपद्को समयमा आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्थासमेत रहेको मेयर दाहालले बताइन् ।
मेयर दाहालले सदैव स्थानीय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताईन् । ‘लामो कसरतले जनता माझ बोलेका कुरा पुरा भएको छ उनले भनिन ‘सधै बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपदकै घडीमा ठुलो राहत मिल्नेछ । मेयर दाहालले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन ।
यस्तै, उपमेयर पार्वती शाहले बाढीलगायतका विभिन्न जोखिमबाट स्थानीयलाई बचाउन भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन् । महानगरले पहिलो चरणमा सघन सहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाउँमा समेत निर्माण गरिने प्रतिबद्धता जनाइन् ।
साझापुरका स्थानीय बुद्धि कँडेलले यो भवन बनेपछि निकै खुसी लागेको बताए । यसले बोटे, मुसहर र जनजातिलाई अझै सहज भएको उनको भनाइ छ ।