गैँडाकोट । गैँडाकोट नगरपालिका–४ की २१ वर्षीया विना सापकोटा बेपत्ता भएको शनिवार १२ दिन पूरा भयो । तर पनि हालसम्म उनको कुनै अत्तोपत्तो छैन । उनी कहाँ, कसरी बसेकी छन् भन्ने कुरा न प्रहरीले सुराक पाएको छ, न त परिवारले नै कुनै अनुमान लगाउन सकेको छ ।
छोरीको खोजीमा लागेका विनाका बुबा जयश्वर सापकोटा छोरी भेटिनेमा अझै आशावादी छन् । उनी भन्छन्, ‘आशावादी भएर नै खोजीमा लागिरहेका छौँ, शुक्रबार देवघाटदेखि गौरीघाटसम्मको नदी तटीय क्षेत्रमा प्रहरीसहितको टोलीले खोजी कार्य गरेको थियो, होटलहरुमा पनि खोजी जारी राखेका छौँ तर अहिलेसम्म कहीँकतै फेला पार्न सकेका छैनौँ ।’ उनका अनुसार कसैले यो ठाउँमा हामीले देखेका छौँ भन्ने जानकारी पनि आएको छैन ।
छोरी हराएपछि जयश्वरले आफूलाई बल्लबल्ल सम्हाल्दै खोजीमा जुटिरहेका छन् । घरमा जोकोही आए पनि छोरी खोजिदिन परिवारले आग्रह गरिरहेको छ ।
‘हरेक दिन बिहानै छोरीको खोजीमा निस्कन्छु र राति घर पुगेपछि परिवारसामु नाजवाफ भएको छु, अझै पनि छोरीलाई फेला पार्छु भन्ने आशा भने छ’, विनाका बुबा जयश्वरले भने ।
विना सापकोटा असार १४ गतेदेखि चौबीसकोठीबाट बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीले पनि उनको खोजीलाई जारी राखे पनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले भने, ‘धेरै ठाउँमा खोजी कार्य गरिरहेका छौँ, अहिलेसम्म भेटिएको छैन ।’
विना पाँच वर्षदेखि भरतपुर–४ का प्रवेश कँडेलसँग प्रेम सम्बन्धमा थिइन् । हराएको दिन पनि विनाकै घरबाट प्रवेशले स्कुटरमा हालेर आफ्नो घर ल्याएका थिए । प्रवेशले विनालाई आफ्नो घरमा ल्याउँदा अर्की युवतीसँगको सम्बन्ध थाहा पाएपछि विना केही समय बेहोस भएकी र होसमा आएपछि उनी त्यहाँबाट निस्केको बताइएको छ ।
भरतपुर, चौबीसकोठीमा आएपछि विनालाई छोडेर प्रवेश बैंकको एटिएममा पसेपछि विना बेपत्ता भएको भनाइ प्रहरीको छ । प्रवेशलाई यतिबेला प्रहरीले नियन्त्रणमै राखिरहेको छ । प्रवेश दाइको विवाहका लागि वैशाखको दोस्रो साता बेलायतबाट आएका थिए । गैँडाकोटको जनक कलेजमा विविएस तेस्रो वर्षमा अध्ययनरत विनाको खोजी कार्यलाई जारी राख्ने चितवन प्रहरीको भनाइ छ ।
समाचार स्रोत: इचितवन पोस्ट