कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलाको गैह्राकेसरीबाट गोरुको मासु र हतियारसहित ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार गोरु काटिरहेको अवस्थामा आइतबार मध्य रातमा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूमा माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको कसेरीका २७ वर्षीय जीत बहादुर तामाङ, ५६ वर्षीय कुल बहादुर विश्वकर्मा, २१ वर्षीय अभिनाश तामाङ, २७ वर्षीय अरुण तामाङ, २९ वर्षीय, सुकमाला तामाङ र पोखरा महानगरपालिका–१९ पुरन्चौरका ३९ वर्षीय कुमार श्रेष्ठ रहेका छन्।
पक्राउ गरिएकाहरूको साथबाट गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको हमालले जानकारी दिए।