प्रतिनिधिसभाको सांसदहरुको चौतर्फि विरोधपछि गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने दाबी गरे।
सांसदहरुको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री खाँणले भने, ‘छानबिन समितिको अध्ययनपछिका प्रतिवेदनलाई लिएर सरकारले जस्तोसुकै अडान राख्छ। हामीले भौगोलिक विकटतालाई बुझेर १० दिनको समय दिएका छौँ। छानबिन समितीले घटनास्थलमै पुगेर अध्ययन गरेर प्रतिवेदन बुझाउँछ। त्यसपछि सरकारले जस्तोसुकै कदम चान तयार छ।’
दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएका छन्।
घटनाका दोषीलाई कारबाही गर्न व्यापक विरोध भइरहेको छ। गृह मन्त्रालयले आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।