ललितपुर महानगरपालिकाले स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीका साथै ललितपुरका ४० वर्षमाथिका स्थानीयलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।
महानगरपालिकाले यही भदौ १० र ११ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउने जनाएको छ। महानगरका २९ वटै वडामा खोप लगाउने व्यवस्था गरिएको पनि महानगरपालिकाले उल्लेख गरेको छ।
खोप लगाउन विद्यार्थीले परिचयपत्र वा परीक्षाको प्रवेशपत्र लिएर खोप केन्द्र जानुपर्ने छ भने स्थानीयले परिचय खुल्ने कुनै प्रमाणपत्र लैजानुपर्ने छ।
यसैगरी भेरोसेलको पहिलो मात्रा लगाएको २१ दिन पुगिसकेकाहरूलाई पनि महानगरले दोस्रो मात्रा लगाउने भएको छ। महानगरले भदौ १२, १३ र १४ गते खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ।
भेरोसेलको दोस्रो मात्र लगाउन खोप लगाएको कार्ड अनिवार्य रूपमा लिएर वडाको खोप केन्द्रमा आउन पनि अनुरोध गरेको छ।