इटालीले गोलरहित बराबरी खेल्दा कीर्तिमानसँग बराबरी गरेको छ । युरोप महादेशको विश्वकप छनोटअन्तर्गत खेलेको खेलमा इटालीले स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेल्दा लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानसँग बराबरी गरेको हो ।
कीर्तिमान बराबरी गर्ने क्रममा विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।
समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा युरोपको बेस्ट खेलाडी घोषणा भएको जर्जिन्होले पेनाल्टीलाई सदुपयोग गर्न नसक्नदा गोल गर्नबाट चुक्यो । अघिल्लो खेलमा इटाली बुल्गेरियासँग १–१ को बराबरी खेलेको थियो । समूह सीमा इटाली ११ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्वीटजरल्याण्ड ७ अंकसहित दोस्रो स्थानमा छ ।
त्यस्तै विश्वकप छनौट अन्तर्गत नै खेलमा बेल्सले बेलारुसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । बेल्सलाई जिताउन कप्तान ग्यारेथ बेलले तीन गोल गरेको थियो । त्यस्तै जर्मनीले अर्मेनियालाई ६–० गोलले पराजित गर्दा इंल्याण्डले एन्डोरालाई ४–० ले पराजित गरेको छ ।