गृह मन्त्रालयले पहिचान खुल्ने कागजात भएका व्यक्तिलाई मात्र घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई कुनै कामसमेत नदिन आग्रह गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिनामंगलबाट ११ जना अफगानीलाई नियन्त्रणमा लिएपछि गृहले दिउँसो विज्ञप्ति जारी गरेको हो।
गृहले यस्ता पहिचान नखुलेका कुनै विदेशी आफ्ना टोल छिमेकमा बसेको भए तत्काल प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरेको छ।
ब्यूरोको टोलीले सोमबार बिहान ती अफगानी बसेको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
ती अफगानी केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी तवरबाट नेपाल भित्रिएका थिए। काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो।
काठमाडौंस्थित युएनएचसिआरले गुपचुप अफगानीलाई गुपचुप अस्थायी आश्रय दिएर राखेको कुनै जानकारी सरकारले पाएको थिएन।