नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी सोमबार लण्डनबाट स्वदेश फर्किए । ३ दिने कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सचिव यादव कोइरालासँगै लण्डन गएर फर्किएका उनी साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा परे ।
मन्त्री र सचिव भीआईपी लाउञ्जबाट निस्किए पनि उनी भने आम यात्रुसँगै चेकजाँचमा परे । भन्सार जाँचपासमा खटिएका थिए, नासु सुमन थापा ।
नासु थापाले नियमविपरीत सिइओ रेग्मीको साथमा ६ बोतल मदिरा देखे । त्यसपछि उनले रेग्मीलाई सोधपुछ गरे । आफूलाई नासुले सोधपुछ गरेपछि सिइओ रेग्मी बम्किने नै भए । तर, रेग्मी बम्किने भन्दैमा नासु थापाले छाड्ने कुरा भएन ।
नासु थापाले उनलाई नियमअनुसार १ लिटर मदिराभन्दा धेरै ल्याउन नमिल्ने भन्दै कारवाहीको भागिदार हुनुपर्ने भने । तर, सिइओ रेग्मी भने कारवाहीको भागिदार हुनुभन्दा पनि आक्रमक रुपमा प्रस्तुत भए ।
त्यसपछि मदिराको विषयमा दुईबीच विवाद सुरू भयो । विवादकै क्रममा आफूमाथि सिइओ रेग्मीले हातपात गरेको नासु थापाले आरोप लगाएका छन् ।
पछि रेग्मीको स्वास्थ्य जाँच गर्दा मदिरा सेवन गरेको पुष्टि भएको बताइएको छ । र, उनीमाथि भन्सार ऐनअनुसार कारबाही चलाइएको छ भने ५ हजार जरिवाना तिराइएको छ ।