स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याइने बताएका छन्।
बिहीबार अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र मन्त्री खतिवडा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकनका क्रममा मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्।
खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए। उनले फाइजरको खोप ल्याउन भुक्तानीका लगि सरकारबाट निर्णय भइसकेको पनि बताए।
मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताए। उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताए। मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए।
स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘अमेरिकी सहायक विदेशमन्त्रीसँगै बसेर गर्न पाएकोमा खुशी छौँ, आउँदो दिनमा पनि कोभिडविरुद्धको लडाइँ, अमेरिका र नेपाल एकसाथ रहेर अघि बढ्नेछौँ र मित्रता र सहयोग निरन्तरता भइरहनेछ, अब हामीले थप फाइजर खोप ६० लाख सम्झौता गरिसक्यौँ, भुक्तानी गर्न क्याबिनेटबाट निर्णय गरिसकेका छौँ’ उनले थपे, ‘उहाँहरूको भनाइअनुसार हामी एक महिनाभित्रमा पहिलो लट आउँछ र त्यो प्रदेश, प्रदेशबाट जिल्लामा जान्छ, जिल्लाबाट वडा, एक महिनापछि नेपालको हरेक भागमा खोप शुरुवात गरिसकेका हुन्छौँ।’
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताए। उनले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै वास्तविक हिरो भएको बताए। सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे।
सहायक मन्त्री लूले भने, ‘अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन नेपालीहरुलाई सहयोग गर्न पाएकोमा हामीलाई खुशी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरुले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरु रियल हिरो हो, बालबालिकाहरुका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु।’