प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पार्टी संस्थापन पक्षले एकपक्षीय अधिवेशन गरेको छ। अधिवेशनबाट भीमबहादुर साउद कांग्रेस जिल्ला अधिवेशन निर्वाचित भएका छन्।
सोमबार भएको सातौँ जिल्ला अधिवेशनमा साउदले ७३४ मत पाएर विजय हासिल गरे। सभापतिका अर्का उम्मेदवार चूडामणि ठकुराठीले ७६ मत पाए। कुल ८८४ मतदाता भएको डडेलधुरामा ८३४ मत खसेको थियो।
विजय साउद तथा पराजित ठकुराठी दुवै संस्थापन पक्षका हुन्। नव निर्वाचित जिल्ला सभापति साउद परशुराम नगरपालिकाका मेयर समेत हुन्।
संस्थापन इतरको विरोध हुँदाहुँदै सभापति देउवाको गृह जिल्लामा एकपक्षीय अधिवेशन गरिएको छ। जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा तहदेखिका सबै अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा अनसन जारी राखेको छ।