चितवन ,
भरतपुर महानगरपालिकाले सुरक्षा भत्ता नरोक्न सवै वडालाई निर्देशन दिएको छ । वडाभित्र रहेका ६० वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता ख बर्गका अपाङ्गता परिचयपत्र भएका लाभग्राहीहरुलाई भत्ता नरोक्न निर्देशन दिएको हो ।
यस अघि कानुनमा उपलब्ध नगराउने नियम आएको भन्दै अपाङ्गता क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले देशैभर विरोध जनाउँदै आएका थिए । राज्यले खाइपाई आएको सुविधा कटौती गरेको भनी तिव्र विरोध भएपछि सरकारले भत्ता उपलब्ध गराउन निर्देशन दिएपछि महानगरपालिकाले वडाहरुलाई निर्देशन दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको असोज २६ गते बसेको बैठकले साविकमा सामाजिक सुरक्षा भत्ता खाइपाई आएका उहाँहरुलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएपछि नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सवै स्थानीय तहलाई निर्देशन पठाएको छ । विभागका निर्देशक बिष्णु लामिछानेका अनुसार साठी वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक रु. २ हजार र अति अशक्त अपाङ्गता ख वर्गका अपाङ्गता परिचय पत्र भएका लाभाग्राहीलाई १ हजार ६ सय रुपैया मासिक उपलब्ध गराउने गरी चालु आर्थिक वर्षको प्रथम चौमासिक उपलब्ध हुने भएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार प्रत्येक वडाले लाभग्राहीको दर्ता तथा नविकरण सम्वन्धीत सफ्टवयेरमा प्रविष्ट गरि अपुग रकम माग गर्न भनिएको छ ।