नेकपा एमालेको भव्य महाधिवेशन भर्खरै चितवनको नारायणी किनार र सौराहामा सम्पन्न भएको छ। देश अहिले पार्टीगत चुनावी माहोलमा झुमिरहेको अवस्थामा नेपाली कांग्रेसले पनि हिजो १६ गते देखि ७ मध्ये ६ वटा प्रदेश अधिवेशन उद्घाटनको क्रममा चौधौं महाधिवेशनको प्रचार व्यानर सार्वजनिक गरेको छ।
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले व्यानर संगै महाधिवेशनको प्रचार प्रसार सुरुवात भएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार पार्टी सभापति एवं सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन मन्तव्य अगाडीनै प्रचार व्यानर सार्वजनिक गरिएको हो।
नेपालको नक्साभित्र दुइ युवाले नेपालको झन्डा र कांग्रेसको झन्डा बोकेको अनि चुनाव चिन्न रुख तथा विपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्विर अंकित प्रचार व्यानरको छोटो भिडियो भने भोलि सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो।


