नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।
दुई जना उपसभापति पदका लागि सात जना प्रतिष्पर्धामा छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ ।
बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।
त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । बुधबार साँझबाट पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना गरिएको छ ।
१४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । उपसभापति पदको गणना सकिएपछि महामन्त्री पदको मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए ।