नेपाली कांग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन्।
विहीबार पार्टी कार्यालय सानेपामा भएको सम्पन्न मत गणना अनुसार उपाध्याय विजयी भएको कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।
उपाध्यायले नजिकको प्रतिस्पर्धी कमला पन्तलाई चार सय २८ मतान्तरले पराजित गरेकी हुन्। कुल चार हजार ६ सय ३८ सदर मतमा उपाध्यायले दुई हजार पाँच सय ३३ र पन्तले दुई हजार एक सय पाँच मत प्राप्त गरेकी छिन्।
उपाध्याय सभापति शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन्।
आज थप दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।

