नेपाल क्रिकेट संघ (क्यान) बाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले संघको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । आफ्नो हक-अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।
आफूहरुमाथि नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीलाई लिएर ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले मुख खोलेका छन् । शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले देशका लागि खेलिरहँदा खेलाडीहरु माथि क्यानले पटक पटक अपमान गरेको गुनासो गरेका छन् । उनीहरुले आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन्।
‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?, उनीहरुले विज्ञप्ति निकालेर सोधेका छन्, ‘आफ्नो अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौँ खेलेका,आफ्नो इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?
क्यानले गरेको ग्रेडिङमा देखिएका समस्या समाधान गर्दै अन्यायमा परेका खेलाडीहरूको ग्रेड बढाउँदै लाने भनिए पनि त्यसलाई क्यानले बेवास्ता गरेको उनीहरुले बताएका छन् ।