चनौली,३-पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवन क्षेत्र नं ३ ‘क’ ले पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई सम्मान गरेको छ । शनिबार चनौलीमा आयोजित कार्यक्रममा राप्रपाको एकता महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका पाण्डेलाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले देश चलाउनेहरुले पदकै निम्ति लड्न थालेको र देशमा लुटतन्त्र मच्चाउँदै आसेपासे पोस्न थालेपछि देश कङ्गाल बन्दै गएको बताए । उपाध्यक्षमा पाण्डेले अब गाउँगाउँमा राष्ट्रवादको झण्डा फहराउने भन्दै हरेक कार्यकर्ताको अमूल्य मतको कदर गर्ने बताए ।
फरक प्रसंगमा बोल्दै उहाँले बहुमतको सरकार असफल भएको दावि गर्नुभएको छ । उहाँले भन्नुभयो, “गणतन्त्रले घुडा टेकेको छ । गणतन्त्रको नेतृत्व लिनेहरु आफु बने आफ्नालाई बनाए । गणतन्त्र त्यसको लागि मात्र फलदायी भयोे जस्ले ल्यायो । लामो समय युद्ध लडेका कहाँ छन पत्तो छैन । बेपत्ता भएकाको कुनै खोजि छैन । अङ्गभङ्ग भएकाको खोजि छैन । परिवर्तन भाषणमा मात्र सिमित हुनाले नै देशको हालत यस्तो भएको पाण्डेको भनाइ थियो ।
उहाँले विदेशिहरुको दलाल कहिले राष्ट्रवादी र राजसंस्थावादी हुन नसक्ने जिकिर गर्नुभएको छ । साथै उहाँलाले केही पार्टी र नेताहरुलाई राष्ट्रवादको पाठ सिकाउन आवश्यक रहेको बताउनुभयो । राप्रपाको एकता माहाधिवेशमा सर्वाधिक मत प्राप्त गरी उपाध्यक्षमा विजय हुनु भएको पाण्डेले माहाधिवेशनका सहभागि सम्पूर्ण प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुभएको छ । स्थानिय चुनाव नजिकिएकाले सक्रिय भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य ऋषिबाबु परियारले चितवनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आउने निर्वाचनमा अध्यक्ष पाण्डेलाई राष्ट्रको उच्च स्थानमा पु¥याउने गरी काम गर्न चितवनका कार्यकर्तालाई आग्रह गरे ।
यस्तै, बागमती प्रदेश सांसद् तथा राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित रीना गुरूङले सर्वाधिक मत दिएर उपाध्यक्षमा वरिष्ठ नेता पाण्डेलाई विजयी गराएकोमा सम्पूर्ण निर्वाचन प्रतिनिधिलाई धन्यवाद दिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नं ३ ‘क’का अध्यक्ष मदन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु ज्ञानजङ्ग लामा र माधव भट्टराई, जिल्ला अध्यक्ष रूद्र ढकाल, उपाध्यक्ष चेतनाथ वाग्ले, भरतपुर महानगर कमिटी अध्यक्ष दीपक थापा, पिताम्बर अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति चितवन, क्षेत्र नं १ र २ को संयुक्त आयोजनामा गरीएको कार्यक्रममा विभिन्न पार्टीबाट ५० बढीले प्रवेश गरेका थिए भने राप्रपा चितवन क्षेत्र नं ३, राप्रपा क्षेत्र नं ३ क र राप्रपा भरतपुर महानगरको संयुक्त आयोजनामा गरीएको कार्यक्रममा क्षेत्र नं ३ का डेढ सय भन्दा बढीले राप्रपा प्रवेश गरेका थिए ।
उक्त अवसरमा उपाध्यक्षमा पाण्डेको साथै केन्द्रीय सदस्य ऋषिबाबु परियार, केन्द्रीय सदस्यमा रीना गुङङ तथा बागमती प्रदेश कमिटी सदस्यहरु ज्ञानजङ्ग लामा र माधव भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रम चितवन जिल्ला पार्टी कार्यालय र चनौलीमा आयोजना गरीएको थियो ।


