ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई झन्डै १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । सन् २०११–१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए ।
सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए । सन् २०१७ मा उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी भएका थिए । हाल उनी प्रगतिशिल सोशल कन्भर्जेन्स पार्टीका सदस्य हुन् ।