मालपोत कार्यालय, चनौलीमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन वीरेन्द्रबहादुर कठायतविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ। अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग मोटो रकम घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पौडेल र कठायतलाई पक्राउ गरेको थियो।
कार्यालय प्रमुख पौडेल र अमिन कठायतले सेवाग्राहीसँग अंशबण्डा गरी बाटो कायम गर्नको लागि जग्गाको कित्ताकाटलगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा पक्राउ परेका हुन्। पौडेलले सेवाग्राहीबाट ५० हजार रुपैयाँ माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अमिन कठायतले भने सेवाग्राहीसँग रु.एक लाख ५० हजार रुपैयाँ नगद र तीन लाख ५० हजार रुपैयाँ रकम बराबरको चेकसमेत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
‘मालपोत कार्यालय, चनौली, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले रु.५० माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी वदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस/रिसवत वापतको रकम लिएको पुष्टी हुन आएको उनले बताए।
वीरेन्द्रबहादुर कठायतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निजलाई रु.एक लाख ५० हजार रुपैयाँ नगद र रु.तीन लाख ५० हजार रुपैयाँको चेक गरी जम्मा बिगो रु.पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) वमोजिम सजाय हुन र मुकुन्द पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ आयोगले जनाएको छ।
अख्तियारको सम्पूर्ण विवरण : यहाँ हेर्नुहोस।

