बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि नेपाली सेफ सन्तोष साहले जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।
विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए । सिरहा कर्जन्हाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।

Photo Credit: BBC
बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि देश विदेशमा चुलिएको थियो ।

