चितवन २२ पुस । अत्यन्त जटिल उपचारका लागि काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यहीँ उपचार पाउन थालेका छन्। सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो।
यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा नौ महिनामा एक सय जनाको मुटु, रक्तनली र फोक्सोको शल्यक्रिया सफल भएको छ।अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् यी शल्यक्रिया भएका हुन्।
गत वैशाखदेखि यो सेवा सुरु गरिएको विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा अनिल आचार्यले बताए। उनका अनुसार मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको छ।
उनले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिँदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाइएको बताए। हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उनको दाबी छ। विभागमा डा आचार्यसँगै डा अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आएका छन्।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सिटिभिएस विभागअन्तर्गत सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको बताए। चितवनमा सिटिभिएसअन्तर्गतका महत्त्वपूर्ण शल्यक्रिया सफलतापूर्वक हुन्छन् भन्ने पुष्टि भएको उनले बताए।

