भरतपुर । भरतपुर–माडी हुलाकी राजमार्गअन्तर्गत हाकिमचोक–गीतानगर–पकौडी सडकखण्डको विस्तारमा ढिलासुस्ती हुँदा यस खण्डमा ठूला दुर्घटना हुने गरेका छन् । साँघुरो सडकका कारण सवारी दुर्घटनामा परेर मानिसले ज्यानै गुमाउने अवस्था आउँदा पनि सडक विस्तारको कामले भने खासै गति लिन सकेको छैन ।
यस सडकखण्डको विस्तारको काम सुरू भएको डेढ वर्ष नाघिसकेको छ । सम्झौताअनुसार सडक विस्तारको काम अबको पाँच महिनाभित्र सकिसक्नुपर्छ । अहिलेसम्म सडक विस्तारको काम भने २५ प्रतिशतमात्रै सकिएको छ । यस खण्डमा अहिले ५.५ मिटरमा मात्रै पिच छ । सडक सुधार गरेपछि बजार क्षेत्रमा १० मिटरसम्म र अरु ठाउँमा कम्तीमा ७ मिटर पिच हुने सडक डिभिजन भरतपुरले बताएको छ ।
दुई वर्षभित्र सडक सुधारको काम सक्ने सर्तमा एमएस लामा÷शिवशक्ति जेभी काठमाडौँ र सडक डिभिजन भरतपुरबीच २०७७ जेठ २९ गते सम्झौता भएको हो । सडक सुधारअन्तर्गत साइड नाली, तटबन्ध, अस्फाल्ट कालोपत्रे निर्माण र ट्राफिक चिह्न राख्ने गरी २९ करोड १७ लाख १७ हजार रूपैयाँमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो ।
यस सडकखण्डको ठाउँ–ठाउँमा नाली बनाउने काम भइरहेको छ । ग्राभेलको अभाव र सडक क्षेत्रमा परेका बिजुलीका पोल हटाउन ढिलाइ हुँदा सडक विस्तारको काममा पनि ढिलासुस्ती भएको सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर वासुदेव सापकोटाले बताए ।
चितवनमा सडक बनाउँदा ग्राभेल नपाउने प्रमुख समस्या रहेको उनले बताए । ‘बेसको सबै काम ग्राभेलको हुने हो तर ग्राभेल नै खुल्दैन । खगेरीमा राम्रो र प्रशस्त ग्राभेल पाइन्थ्यो, त्यहाँ खुलाएका छैनन् । भरतपुरमा पनि खुलेको छैन, नारायणीको काम लाग्दैन’, उनले भने ।
सडक विस्तारको काम म्यादभित्र सक्न कठिन छ । बिजुलीको पोल सार्न लाग्ने खर्चको व्यवस्था गरिदिन सडक विभागलाई लेखेर पठाएको पत्रको कुनै जवाफ नआएको उनले बताए । पोल सार्न करिब अढाई करोड लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।
सडकखण्डको विभिन्न स्थानमा सडक अधिकार क्षेत्रलाई अतिक्रमण गरेर घरटहरा निर्माण गरिएको छ । त्यस्ता अवरोध हटाउनै बाँकी छ । सडकखण्डको सुरू बिन्दु हाकिमचोक र गीतानगरलगायत विभिन्न स्थानमा अवरोध हटाउन बाँकी नै छ ।
‘सडक अधिकार क्षेत्र खाली गर्ने काम त धेरै ठाउँमा बाँकी नै छ, गीतानगर बजार नै बाँकी छ । त्यसो भएकोले अहिले अन्त काम गर्दै जाऊँ, अरु काम सकेपछि त्यो काममा लाग्नुपर्छ’, उनले भने ।