भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् । आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् ।
मेयर दाहालले भनिन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेसनको हो । महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले स्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौँ । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । लगभग १० करोड रुपैयाँ बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो । महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौं । १८\२० करोड रुपैयाँको बजेट फाउण्डेसनलाई उपलब्ध गराएको हो । उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन । उहाँहरुले हामीले स्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरुले फाउण्डेसनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं । सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ ।’
मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरिन् । उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन् । उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताइन् । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन् ।
मेयर दाहालले आफ्नो साढे चार वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन् । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताइन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरिन् । उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताइन् । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताइन् ।
मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताइन् । उनले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना सुरु गर्न सम्भव नभएको बताइन् । मेयर दाहालका अनुसार आफ्नो कार्यकालमा महानगरमा तीन अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ । उनले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताइन् ।

