खैरहनी । सुकुमबासीहरुले चुनावअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिँदै देशभर नो लालपुर्जा नो भोट अभियान तीव्र पारेका छन् । जिल्लाको रत्ननगरमा केही समयदेखि बृहद् विरोध प्रदर्शन गरेका सुकुमबासी समुदायले आइतबार खैरहनी नगरपालिकामा ¥यालीसहित कोणसभा गरेका छन् ।
नेपाल बसोवास बस्ती संरक्षण समाज खैरहनी नगर समितिको आयोजनामा नगरभित्रका सुकुमबासीहरुको बृहद् जनजागरण खबरदारी ¥याली र कोणसभा गरिएको हो । सो कार्यक्रममा नगरभित्रका सुकुमबासी समुदायका झन्डै एक हजार जनाको सहभागिता थियो ।
खैरहनी–६, पुरानो पर्साबाट सुरू भएको ¥याली नयाँ पर्सा, चैनपुर चोक हुँदै खैरहनी नगरपालिका कार्यालयमा पुगी कोणसभामा परिणत भएको थियो । ¥यालीमा नो लालपुर्जा नो भोट, चुनावअघि लालपुर्जा देऊ, सुकुमबासीलाई भोट बैंकको रुपमा मात्र प्रयोग नगर, सुकुमबासी समुदाय एक हौँ, बसोवासको आधारमा लालपुर्जा देऊ, सुकुमबासीले दिएको भोटको सदुपयोग गर, आयोगको नाममा झूटको खेती बन्द गर, असमान भूमि नीति खारेज गर, कि लालपुर्जा देऊ कि भोट फिर्ता गरजस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल बसोवास वस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले चुनावअघि लालपुर्जा प्राप्तिका लागि देशभर आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको बताए । राजनीतिक दल र सरकारले बारम्बार सुकुमबासीमाथि झूटको खेती गरेको भन्दै केन्द्रीय अध्यक्ष कार्कीले भने, ‘आसन्न चुनावकेन्द्रित गर्दै दबाबमूलक कार्यक्रम गरेर सरकारको ध्यानाकर्षण निरन्तर गराइरहने छौँ ।’
अभियान देशव्यापीरुपमै सञ्चालन भइरहेको र यसले सुकुमबासीहरुको अधिकार प्रत्यायोजनमा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउने र सुकुमबासीको नाममा राजनीतिक दलहरुले घोषणापत्रमै सीमित राखेको घोषणालाई यथार्थमा परिणत गराउन प्रोत्साहन दिने विश्वास उनले व्यक्त गरे ।
बसोवास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले सुकुमबासीहरुलाई विभिन्न बहानामा लालपुर्जाबाट वञ्चित गराउने कामहरु भइरहेकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए । पछिल्लो समय सुकुमबासीहरु एकजुट र एकमुख भएर अगाडि बढेको र राजनीतिक दलहरुका झूटा आश्वासनमा नपर्ने उनले चेतावनी दिए । नेपाल बसोवास बस्ती संरक्षण समाज खैरहनीकी अध्यक्ष उर्मिला विकको अध्यक्षतामा कोणसभा भएको थियो ।