भरतपुर । चितवन जिल्लामा कोरोना सङ्क्रमितको संख्या पाँच हजार नाघेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट ७३ जना चितवनवासीको निधन भइसकेको छ । चितवनका सातवटा स्थानीय तहका तीन हजार ३१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले आइतबार साँझसम्म सङ्क्रमितको संख्या पाँच हजार १० पुगेको जानकारी दिए । सङ्क्रमितमध्ये महिला दुई हजार १० जना रहेका छन् ।
चितवनका सात स्थानीय तहमध्ये कोरोना सङ्क्रमित हुनेको संख्या र यसबाट मृत्यु हुनेको संख्या भरतपुर महानगरपालिकामा बढी छ । भरतपुर महानगरमा सङ्क्रमितको संख्या तीन हजार ४६० पुगेको छ । ४२ जनाको मृत्यु भइसकेको छ । महानगरका दुई हजार २२२ जना निको भएका छन् ।
खैरहनी नगरपालिकामा सङ्क्रमितको संख्या ३५५ रहेको छ । हालसम्म खैरहनीमा ९ जनाको मृत्यु भएको छ । २४५ जना निको भएका छन् ।माडीमा हालसम्म १०२ जना सङ्क्रमित छन् । यहाँ मृत्यु शून्य छ । ७९ जना निको भएर घर फर्केका छन् ।
त्यस्तै, रत्ननगर नगरपालिकामा सङ्क्रमितको संख्या ६२८ रहेको छ । यहाँ ८ जनाको मृत्यु भएको छ भने ४२७ जना निको भएका छन् ।
यसैगरी, राप्ती नगरपालिकामा सङ्क्रमितको संख्या २८५ पुगेको छ । यहाँ ८ जनाको निधन भएको छ भने २१६ जना निको भएका छन् । त्यसैगरी, कालिका नगरपालिकामा सङ्क्रमितको संख्या १४९ पुगेको छ । ६ जनाको निधन भएको छ । १०१ जना निको भएर घर गएका छन् ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा सङ्क्रमितको संख्या जम्मा ३१ रहेको छ । मृत्यु शून्य छ भने २४ जना निको भएका छन् ।
एकैदिन तीन जनाको मृत्यु
आइतबार एकैदिन चितवनका विभिन्न अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा दुई जनाको निधन भएको छ ।
भरतपुर महानगरपालिका–११ बस्ने ४९ वर्षीय पुरूषको भरतपुर अस्पतालमा मृत्यु भएको हो । ती पुरूष कोभिड सङ्क्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पताल भर्ना भएका थिए । कोभिड आइसियूमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, आइतबारै चितवन मेडिकल कलेजमा तनहुँ, दमौलीका सङ्क्रमित एक वृद्धको निधन भएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार तनहुँ व्यास नगरपालिका वडा नम्बर–१४ का ९६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको हो । ती पुरूष खोकी तथा ज्वरोको समस्याले कात्तिक १२ गते अस्पतालमा भर्ना भएका थिए । उनको आइतबार दिउँसो कोभिड आइसियूमा उपचार हुँदाहुँदै निधन भएको अस्पतालको भनाइ छ ।
यस्तै, चितवन मेडिकल कलेजमा लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकीको समस्या भएपछि कार्तिक २० गते ती पुरूष अस्पताल भर्ना भएका थिए । कार्तिक २१ गते उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियोे । उनको पनि कोभिड आइसियूमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
हरेक महिना दोब्बरले बढी
गत भदौ २३ गते अर्थात् २ महिनाअघि चितवनमा १ हजार ५२ जनामात्रै कोरोना सङ्क्रमित थिए । मृत्यु संख्या जम्मा १२ रहेको थियो । सात स्थानीय पालिकाहरुमध्ये सबैभन्दा धेरै भरतपुर महानगरमा ६ सय ९२ जना सङ्क्रमित थिए ।
असोज महिनाको २२ गतेको तथ्याङ्क हेर्दा सङ्क्रमितको संख्या भदौको तुलनामा दोब्बर बढी छ । यस अवधिमा सङ्क्रमितको संख्या २ हजार ५ सय १० जना रहेका थियो । सङ्क्रमितमात्रै नभएर एक महिनाको अवधिमा मृतकको संख्या पनि दोब्बरभन्दा बढी थप भई ३० जना पुगेको थियो ।
कार्तिक २३ गतेको स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार चितवनमा असोज २२ देखि हालसम्मको अवधिमा सङ्क्रमित संख्या र मृतक संख्या दोब्बर बढी छ । दुई महिनाको अन्तराल (भदौ–कात्तिक)मा चितवनमा सङ्क्रमित संख्या ४ हजारको हाराहारीमा बढेको छ । यो संख्या दैनिक औसतमा ६६ जना हुन आउँछ ।