चितवनः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिए पनि चितवनका विद्युतीय व्यवसायीहरुमा उत्साह छाएको छैन । कोरोना कहरले तिहारमा झिलिमिली बत्तीको कारोबारमा अन्यौलता देखिएपछि व्यवसायी उत्साहित छैनन् ।
विद्युतीय व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तेजनारायण खरेलले गत वर्षको तुलनामा यो वर्ष तेब्बर बढी व्यापारमा कमी आउने बताए । यसपाली व्यापारमा उत्साह छैन, लगानी पनि कटौती छ, उनले भने, विगतको तुलनामा यसपाली निकै कम सामान आयात भएको छ । उनका अनुसार यो वर्ष तिहारलाई लक्षित गरेर करिब २० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।
गत वर्ष नेपालमा तिहारमा करिब ६० करोड रुपैयाँ भन्दा बढी आयात भएको थियो । तिहारमा आकर्षक बत्तीले घर, सडक झलमल्ल हुने गर्छ । तर, यसपाली कोरोना कहरले झिलिमिली दृश्य कम हुने आंकलन गरिएको छ । चितवनका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन पुरीले थोक कारोबारमा समेत गिरावट आएको बताउँछन् ।
दसैँ लगत्तै बत्तीको थोक व्यापार बढ्थ्यो, गाउँदेखि व्यवसायी आउँथे, उनले भने, यसपाली आधा बढीले कमी छ, खुद्रा व्यापार नगण्य छ । तिहारका बेला बत्तीले घर सजाउने पुरानो चलन हो । कोरोनाकै कारण व्यवसायीले पनि लगानी बढाएका छैनन्, विगतभन्दा तेब्बर कम सामान मगाएका छन्, उनले भने, उपभोक्ता पनि बत्ती किन्न उत्साहीत छैनन् ।
चितवनमा यो वर्ष मुस्किलले ४ करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने देखिन्छ । कोरोना कहरका कारण जिल्लामा क्रेताको चहलपहल समेत न्यून भएको हुँदा झिलिमिली बत्तीको कारोबार नै न्यून भएको पुरीले पुरीले बताए
लक्ष्मीपूजा आउनुभन्दा ५ दिन पहिले सजावटका लागि बत्ती किन्न आउनेको बजारमा चहलपहल बढ्छ । तिहार नजिकिएको भए पनि कारोबार निकै कम भएको व्यवसायीहरुको भनाइ छ । सामान बिक्रि नभएर स्टक बस्ने जोखिम बढेको व्यवसायीहरु बताउँछन् ।
सजावटका बत्ती बिक्रि नभए अर्को तिहार कुरेर भण्डारण गर्दा लगानी डुब्ने चिन्ता समेत व्यवसायीमा छ । मलेखु, बर्दघाट, लोथर, माडीसम्म नारायणगढ, भरतपुरबाट झिलिमिली बत्तीको थोक कारोबार हुन्थ्यो । तर यसपाली स्थानीय बजारमै सिमित बनेको छ ।